पुष्कर खड्का
दैलेख: सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, एभरेस्ट क्लब दैलेखको समन्वय र पञ्चकोशि ज्वाला युवा प्रतिष्ठान दैलेखको आयोजनामा सिफ्ट क्याम्पियनको नगर स्तरीय परिचयात्मक कार्यक्रम तथा वातावरण मैत्री नीति निर्माण तथा अन्तरक्रिया कार्यगोष्ठि सम्पन्न भएको छ ।
बुधवार सम्पन्न कार्यक्रममा वातावरण मैत्री नगर बनाउन गरिने अभ्यास र चुनौतीहरू बिच छलफल भएको थियो । वातावरण समिति संयोजक नारायण नगरपालिका –६ का वडा अध्यक्ष जनक न्यौपानेले हरियाली विद्यालय बनाउन पानी उपलब्ध, पर्याप्त मात्रामा जमिन, फोहोर व्यवस्थापन गर्ने ठाउँ नहुँदा निकै कठिनाइ हुने बताए ।
उपस्थितको तर्फबाट पत्रकार विशाल सुनारले भने “पालिका सँग आफ्नो नीति भएपछि, स्थानीय क्लबहरू सक्रिय भएपछि, जसले प्लास्टिक वस्तु प्रयोगमा ल्याउँछ विभिन्न बोटलहरु त्यो उसले नै फिर्ता लिने जस्ता नीति निर्माण गर्दा वातावरण मैत्री नगर बन्न सहज हुन्छ ’’ ।
नीति अनुसार चल्न, सबै नगरका घरधुरीलाई कुहिने र नकुहिने फोहोर छुट्टाएर राख्न, विभिन्न फोहोरहरूलाई कम्पोस्ट मल बनाउन पहल गरेको र दुल्लु नगरपालिका, चामुण्डा विन्द्रासैनि नगरपालिका , भैरवी गाउँपालिका र नारायण नगरपालिकाले फोहोरलाई सङ्कलन गरी मोहोर बनाउने उद्देश्यले स्थानीय तहका विभिन्न क्लबहरूलाई जोडेर काम गरिरहेको नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले बताएका छन् ।
सिफ्ट क्याम्पियनले नारायण नगरपालिकाको चार वटा विद्यालय महेन्द्र मा.वि सोेत, वसन्त मा.वि किमुगाँउ, त्रिभुवन मा.वि दैलेख बजार र सरस्वती मा.वि तर्ताङमा हरित विद्यालय बनाउने, बाँसको विभिन्न सामाग्रीहरू बनाउने र प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण गर्न डोको अभियान नामकरण गरी पञ्चकोशि ज्वाला युवा प्रतिष्ठानले सञ्चालन गरिरहेको अध्यक्ष लोकेश गिरीले जानकारी दिए ।




खुल्ला प्रेस । ३२ श्रावण २०८०, बिहीबार २०:५२