ठेकेदारको लापरबाहीले त्रिदेशीय सडक अलपत्र

दैलेखः ठेकेदारको लापरबाहीका कारण त्रिदेशीय सडक अलपत्र परेको छ । दैलेख सदरमुकाम देखि महाबु हुँदै जुम्ला जोड्ने सडक निर्माण कम्पनीको लापरबाहीका कारण अलपत्र परेको हो ।
दैलेखका प्रतिनिधि सभा सदस्य एवं कर्णाली प्रदेशका पूर्व भौतिक मन्त्री अमर बहादुर थापा सहितको टोलीले महाबु खण्डमा भएको सडकको प्रगति बारेमा अनुगमन गर्दा सडकको काम अलपत्र देखिएको र काम सुस्त गतिमा भएको प्रति चिन्ता व्यक्त गरे ।
दैलेख लगायत कर्णालीका ७ जिल्लाको मेरुदण्ड रहेको सडक खण्ड कालोपत्रेका लागि स्थलगत अध्ययन गरेका थापाले भने‘म संविधान सभा सदस्य हुँदादेखि यसको पहल गरेको हु, मेरो कार्यकालको ३ वर्षमा यो सडक कालोपत्रे गराउँछु ।’
मृत्यु मार्गले परिचित कर्णाली राजमार्गको वैकल्पिक सडकका रूपमा रहेको यो सडक सञ्चालन भएपछि आर्थिक अवस्था कमजोर भएका जनताको लागि फाइदा हुने देखिन्छ । कर्णाली राजमार्ग देखि ७९ किलोमिटर छोटो पर्ने सडक खण्ड निर्माण सुरु भएको लामो समय सम्म गति नलिनु ठेकेदारको कमजोरी भएको सरोकारवालाले बताउने गरेका छन् ।
दैलेख सदरमुकाममा रहेको काडाचौरलाई आधार बनाएर कालिकोट सम्म ४० किलोमिटर भू–भागमा अहिले ७ वटा निर्माण कम्पनीहरूले काम गरिरहेका छन् । भैसीखोर देखि भवानी गेट सम्मको ५ किलोमिटर सडक चैत्र सम्म कालोपत्रे सम्पन्न गरिसक्नुपर्ने भए पनि अहिले सम्म सम्पन्न भएको छैन । यसको जिम्मा लिएको कश्यप निर्माण सेवा एण्ड सप्लायर्सले समयमा काम नगरिदिँदा यहाँका बासिन्दाहरू आक्रोशित भएका छन् । ५ करोड ५८ लाख लागतमा ठेक्का सम्झौता भए पनि समयमा काम नगरेकोले सप्लायर्सलाई कालो सूचिमा राख्ने प्रक्रिया अघि बढाइने सडक डिभिजन सुर्खेतका इन्जिनियर सुरेन्द्र सिंहले बताए ।
महावु क्षेत्रको विकासमा लागि यो सडक महत्त्वपूर्ण रहेको भन्दै नारायण नगरपालिका मेयर लोमन शर्माले भने‘नेपालगन्जको बागेश्वरी, सुर्खेतको काँक्रेविहार, दैलेखको पञ्चकोशी क्षेत्र, हुँदै महाबु पर्यटकीय क्षेत्र, जुम्लाको तातोपानी र रारा सम्मको पर्यटन प्रवर्धनमा यो सडक निकै महत्त्वपूर्ण भएको बताए । जमुनाहा नाका देखि सुर्खेत,दैलेख कालिकोट, जुम्ला हुँदै चिनको सिमाना जोडने त्रिदेशीय सडक नेपाल सरकारले विगत चार वर्ष देखि प्राथमिकतामा राखेको छ । यो सडक निर्माण सम्पन्न पछि ७९ किलोमिटर छोटो र सुरक्षित यात्रा गर्न सकिन्छ ।
यस सडक खण्डमा अहिले ७ वटा निर्माण कम्पनीले काम गरिरहेका छन् । विभिन्न प्याकेजमा काम ठेक्का लिएका उनीहरूले काम भने सुस्त गतिमा गरेको स्थानीयले आरोप लगाएका छन् । यो सडक दैलेखबाट सङ्घीय सांसदहरूको पहिलो प्राथमिकतामा परेको सडक हो । सडक निर्माणको लागि हालेको सांसद विकास कोषको रकम पनि समय समयमामा काम नहुँदा बजेट फिर्ता हुने गरेको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५