रित्तिदै गाउँ भरिँदै शहर, १० बर्षमा पाँच सयले घट्याे जनसंख्या

बसाइँ सरेपछी जिर्ण बन्दै गएकाे भगवतीमाई गाउँपालिकाकाे एक घर । फाेटाेः जनक अधिकारी

दैलेखः एक दशक अगाडिसम्म दैलेखमा धेरै बजार थिएनन् । अधिकांश गाउँमै बस्ने, पशुपालन र कृषि गरेर जीवन निर्वाह गर्थे । उनीहरूमा बजारमोह त्यत्ति थिएन । बजार साना थिए । अहिलेका जस्ता ठूला–ठूला पक्की घर थिएनन् । बजारमा पनि माटो, ढुङ्गा र काठले बनेका घर बढी थिए ।
स्थानीय तह बनेसँगै गाउँ–गाउँमा मोटरबाटो पुग्न थाल्यो । साना बजार ठूला शहरमा परिणत हुँदै गए । दैलख सदरमुकाम, चुप्रा बजार तल्लो डुङ्गेश्वरलाई मुख्य बजारका रूपमा लिइन्थ्यो । पछिल्लो समय यस्ता बजार घरैघरले भरिन थालेको छ । ग्रामीण भेगका बासिन्दा सेवा सुविधा खोज्दै तराइ तथा शहरमा बसाइँसराइ गर्ने चलन ह्वात्तै बढेको छ । अहिले दिनप्रतिदिन गाउँ छाडेर बजार झर्नेको लर्को लाग्न थालेको छ । गाउँको कुना कन्दरासम्म सडक पुगे पनि बजारमोह भने उस्तै छ ।
जिल्लाका नौमुले, वेस्तडा, डुङ्गेश्वर, दैलेख सदरमुकाम, दुल्लु, रामककर्णाली गुराँसे लागयत ठाउँ बजारमा परिणत हुँदैगएका छन् । गाउँमा विकासले गति लिए पनि शहर जाने क्रम रोकिएको छैन् । गाउँ रित्तिदै छ भने बजार भरिँदै गएका भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापाले बताए । अध्यक्षले भने‘अहिले विदेश जाने, पैसा कमाउने र बजार झर्ने लहर चलेको छ’, भगवतीमाई गाउँपालिकाका अधिकाँश वडाबाट सुर्खेत बसाई सर्नेको संख्या अधिक छ, कोही स्थानीय वेस्तडा बजारमा झरेका छन् । बसाइँसराइ रोक्न स्थानीयलाई आयआर्जनसँग जोड्नुपर्नेमा थापाको भनाई छ ।
‘बसाइँसराइको मुख्य कारण गाउँमा पर्याप्त विकास र सेवासुविधा नहुनु हो, हुनेखाने सब शहर बजार जान थालेका छन् अध्यक्ष थापाले भने । दैलेखका सबै भन्दा बढि बसाई सरकाइको गन्तब्य लुम्बीनी प्रदेशको बाँके बर्दिया र सुर्खेतको वीरेन्द्रनगर भएको गाउँपालिकाका प्रवक्ता गणेश शर्मा बताउँछन् ।
उनी भन्छन्, ’गाउँमा विकास भइरहेकै छ, तर पनि बसाइँसराइ कम भएको छैन् ।’ गाउँमा युवा भेट्टाउनै मुस्किल पर्छ । गाउँका घर जीर्ण बन्दै गएका छन् । घर र खेतीयोग्य जमिन प्रयोग गर्नेको सङ्ख्या घट्दै गएको भगवतीमाई ४ पोखराका नरेन्द्र वलीले बताए । बसाइँसराइले गाउँ रित्तिदा उत्पादनमा कमी आएको छ । धान, गहुँ, मकै र सागसब्जी फल्ने बारी बाँझिएका छन् । गाउँ उराठ बन्दै गएका छन् ।

चार बर्षमा बसाईसराई गर्नेको संख्या एक हजार भन्दा बढि

भगवतीमाई गाउँपालिका दैलेखबाट मात्रै १ हजार १ सय ७४ जनाले बसाईसराइँ गरेका छन् भने जिल्लाबाट बसाइँसराई गर्नेको संख्या कति होला सोझै अनुमान गर्ने सकिन्छ,। भगवतीमाई पञ्जीकरण शाखा बेस्तडाको रेकर्ड अनुसार आर्थिक बर्ष २०७६/०७७ मा भगवतीमाई गाउँपालिकाबाट बाहिर जानेको संख्या १ सय ३९ जना रहेको छ, पालिका भित्र आउने २ जना छन् । आर्थिक बर्ष २०७७/०७८मा ३ सय ४१ जना बाहिरीएका छन्, ७ जना आएका छन्, बाहिरीने को संख्यामा आर्थिक बर्ष २०७८/०७९मा पनि कमि आएको छैन् यस बर्ष २ सय ३५ जना पालिबाबाट बाहिर बसाई सरेका छन् भने ३७ जना भित्रिएको तत्याङ्क रहेको छ । आर्थिक बर्षको २०७९/०८० को माघ महिना सम्म गाउँपालिकाबाट ४ सय २ जना बसाइँसराई लिएको पञ्जीकरण शाखा वेस्तडाले जनाएको छ । यस बर्ष भगवतीमाई गाउँपालिका भित्र बसाई सरेर ५ जना आएका छन् । गएको १० बर्षमा गाउँपालिकाको जनसंख्या घटेको छ र राष्ट्रिय जनगरण २०६८को जनगरणमा १८ हजार ७ सय ७८ रहेकोमा राष्ट्रिय जनगरण २०७८ मा यो संख्या घटेर १८ हजार २ सय ६ रहेको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५