दैलेख: मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यालय दैलेखले मतदाता शिक्षासँगै आफ्ना कार्यक्रमलाई अगाडि बढाइरहेको छ ।
दैलेखमा निवाचनलाई सभ्य तरिकाले सम्पन्न गर्न जिल्लामा हुने गतिविधिको सूक्ष्म रूपमा अनुगमन समेत भई रहेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन आयोगले निर्वाचन आचार संहिता जारी गरिसकेको छ । उक्त आचार संहिता पालन गर्नु सबैको कर्तव्य भएको शनिवार जिल्लाका पत्रकार सँगको अन्तरक्रिया कार्यक्रममा मुख्य निर्वाचन अधिकृत बलाराम लम्सालले बताए ।
उनले भने–निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गर्न सबैले आचार संहिता पालना गर्दै कसैले आचार संहितको उलङ्घन गरेको भए तत्काल सम्बन्धित निकायमा खबर गरिदिनुहुन आग्रह गरे ।
शनिवार निवार्चनमा सञ्चार माध्यमको भूमिका विषयक अभिमुखीकरण कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथिहरूले निर्वाचनमा आचार संहिताको पूर्ण पालन गर्न सके निर्वाचन निष्पक्ष हुने धारण राखे । कार्यक्रम बोल्दै लम्सालले दैलेखमा निर्वाचन शान्तिपूर्ण रूपमा सञ्चालन भएको सन्देश दिन सबैलाई आग्रह गरेका छन् । यसमा सञ्चार माध्यमको भूमिका निकै महत्त्वपूर्ण हुने भएकाले सञ्चार माध्यमले निष्पक्ष बनिदिन समेत सुझाव दिए ।
प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले पत्रकारले समाजका हरेक विषयको निष्पक्ष रूपमा अध्ययन अवलोकन गर्ने, लुकेका विषयलाई स्वतन्त्र पूर्वक समाजमा ल्याउने महत्त्वपूर्ण जिम्मेवारी भएकोले मंसिर ४ गते हुन लागेको सङ्घ र सभाको निर्वाचनलाई सफल बनाउन सबैको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।
जिल्ला निर्वाचन अधिकारी मोनमया काउचाले निर्वाचनका बेलामा कसैले पनि मतदातालाई प्रलोभनमा पार्न नहुने,जनताको स्वतन्त्रतापूर्वक मतदान गर्न पाउने अधिकार सुरक्षित राख्न सबैले सहयोग गर्नुपर्ने बताएकी छिन् ।
नेपाल पत्रकार महासङ्घ दैलेखका अध्यक्ष यज्ञराज थापाले सञ्चार माध्यम र सञ्चारकर्मीहरूले आफूले लेख्ने समाचार कसैप्रति पूर्वाग्रही नभएर स्वतन्त्रतापूर्वक लेख्नुपर्ने भन्दै दैलेखका सम्पूर्ण सञ्चार माध्यम तथा सञ्चारकर्मीहरूले आफ्नो भूमिका निर्वाह गर्न सुझाव दिएका छन् ।




खुल्ला प्रेस । २० कार्तिक २०७९, आईतवार ११:३५