कर्णालीमा ‘गोठालो भत्ता’

सुर्खेत : केही बर्षअघिसम्म बैठक बस्ने, गोष्ठी गर्ने वा यस्तै पढालेखाहरुको बीचमा मात्रै भत्ताको चर्चा हुन्थ्यो । तर, अहिले भने थरीथरीका भत्ता गाउँगाउँसम्म पुगृेका छन् ।

भत्ताको यो बाढीमा कर्णालीको ‘गोठालो भत्ता’ पनि थपिएको छ । गाउँगाउँमा सिंहदरबार भन्ने नाराजस्तै सिंहदरबार गाउँमा पुग्यो होला भन्ने कुरामा शंका भए पनि गाउँगाउँमा भत्ता पुगेकोमा भने कुनै शंका छैन । अहिले कर्णली प्रदेश सरकारले गोठालो भत्ता अभियान शुरु गर्न लागेको छ ।

कर्णाली प्रदेश सरकारले भेडा पालन गर्ने एक सय ५० किसानलाई गोठालो भत्ताका लागि आवेदन माग गरेको छ । दुई सय ६५ किसानले गोठालो भत्ताका लागि आवेदन पनि दिएका छन । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट प्रदान गरिने गोठालो भत्ताका लागि उनीहरुले आवेदन दिएका हुन ।

कर्णाली प्रदेश सरकारले पशुपालनलाई प्राथकितामा राखेको छ । भेडापालक किसानलाई प्रोत्साहन गर्न गोठालो भत्ताको कार्यक्रम अघि बढाइएको हो । कर्णाली प्रदेशको पशुसेवा कार्यालयले भत्ताका लागि आवेदन दिन भेडापालक किसानलाई आह्वान गरेको थियो ।
पशुसेवा कार्यालयका प्रमुख गोविन्द महतका अनुसार आव्हान अनुसार प्राप्त दुई सय ६५ आवेदनको छनोट प्रक्रिया अघि बढाइएको छ । आवेदक किसानको बारेमा जानकारी लिन कर्मचारीहरु किसानको घरघरमा खटाइएको पशुसेवा कार्यालयले जनाएको छ ।

स्थलगत प्रतिवेदन आएपछि भत्ता वितरण गरिने कार्यालय प्रमुख महतले बताए । ५० भन्दा बढी भेडा पाल्ने किसानलाई मासिक एक हजार पाँच सय रुपैयाँका दरले भत्ता वितरण गरिने छ । गोठालो भत्ता कार्यक्रमअन्र्तगत एक सय ५० किसानलाई गोठालो भत्ता वितरण गरिने छ ।

रकम नगद नभै सम्बन्धित किसानको बैंक खातामा जम्मा गरिनेछ । उक्त कार्यक्रमका लागि प्रदेश सरकारले ७२ लाख रुपैयाँ विनियोजन गरेको छ । रकमको हिसाबले सानै भएपनि सन्देशको हिसाबले भने यो कार्यक्रम सोझै किसानसम्म पुगेको छ । अन्य अनुदानजस्तै विवादमा नपारी वास्तविक किसानसम्म पुग्ने सुनिश्चितता गर्न अन्य प्रदेशका लागि पनि यो गोठालो भत्ता कार्यक्रम अनुकरणीय हुन सक्छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५