सुर्खेत: आगामी हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि कर्णालीमा पनि दलहरूले उम्मेदवार सिफारिस गर्नमा व्यस्त छन् । दलहरूले सीमित पदमा पनि धेरै उम्मेदवारहरू सिफारिस गरेका छन् ।
आकांक्षी धेरै देखिएपछि व्यवस्थापन गर्न दलहरूलाई पनि हम्मेहम्मे परेको छ । अन्य दलभन्दा पनि गठबन्धन दलबाट बढी आकांक्षी देखिएका छन् । गठबन्धनबाट निर्वाचन जित्न सहज हुने भएकाले पनि आकांक्षीहरू बढेको देखिएको छ । त्यसैगरी दलहरूले पनि आकांक्षी सबैको नामावली सिफारिस गरेका छन् । कार्यकर्तालाई खुसी पार्नका लागि पनि सबैको नाम सिफारिस गरिएको देखिन्छ ।
कर्णालीबाट काँग्रेसले झण्डै पाँच सय जनाको नाम केन्द्रमा पठाएको छ, जसमा एक सय २४ जना महिला छन् । प्रदेशभर दुई जना महिला प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरी पठाएको काँग्रेस कर्णालीका प्रवक्ता दमन शाहीले जानकारी दिए ।
त्यस्तै नेकपा (माओवादी केन्द्र)का प्रदेश अध्यक्ष विमला केसीले आकांक्षी धेरै भएकाले जिल्लाबाट सबै आकांक्षीका नामहरू पठाएको जानकारी दिइन् । ‘जिल्लाबाट सिफारिस भएर धेरै उम्मेदवारको नाम आएको छ,’ केसीले भनिन्, ‘अब यसमा मापदण्ड हेरि केन्द्रमा सिफारिस गर्ने तयारी गरेका छौं ।’ एउटै जिल्लाबाट २२ देखि २५ जनाको नाम सिफारिस भएर आएको केसीले बताइन् । प्रत्यक्षमा भन्दा पनि समानुपातिकतर्फ बढी आकांक्षी रहेको देखिएको छ ।
नेकपा एमालेले भने अन्य दलको तुलनामा कम मात्र उम्मेदवारको नाम सिफारिस भएको जनाएको छ । एमाले कर्णालीका प्रचार विभाग प्रमुख सूर्यमणि गौतमले प्रतिनिधि सभातर्फ कर्णालीका ६ वटा जिल्ला र प्रदेश सभातर्फ ७ वटा जिल्लामा एकल उम्मेदवार सिफारिस भएको बताए । ‘एमालेमा धेरैजसो जिल्लाहरूमा एकल उम्मेदवारी आएको छ भने केही जिल्लामा अलि बढी नामहरू सिफारिस भएर आएका छन्,’ गौतमले भने, ‘सिफारिस भएका नामावलीहरू केन्द्रमा पठाइसकेका छौं ।’
कर्णालीमा प्रत्यक्षतर्फ ७६ जनाको नाम सिफारिस गरेर पठाइएको गौतमले बताए । समानुपातिकतर्फ भने योभन्दा बढी आकांक्षी देखिएको उनले बताए ।
एकीकृत समाजवादीका नेता अम्मरबहादुर थापाले प्रत्यक्षमा पार्टीले तोकेअनुसार सिफारिस गरेको र समानुपातिकमा केही बढीको नाम सिफारिस गरिएको बताए । पार्टीले करिब एक सय २५ जना जत्तिको नाम सिफरिस गरेर पठाएको थापाले बताए । प्रत्यक्षभन्दा पनि समानुपातिकतर्फ धेरैको आकांक्षा देखिएको उनको भनाइ थियो ।
गठबन्धनको सिट बाँडफाँटमा सकस
प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ का लागि कर्णाली प्रदेशमा सिट बाँडफाँट गर्ने क्रममा माओवादी र कांग्रेसबीच मुख्य समस्या हुने देखिन्छ । यी दुबै दलले प्रदेशमा आ-आफ्नो बहुमतका लागि दाबी गरिरहेका छन् । स्थानीय तहको निर्वाचनमा बहुमत ल्याएकाले त्यसकै आधारमा सिट संख्या पाउनुपर्ने दाबी गरेको छ भने माओवादीले आफ्नो आधार इलाका नै कर्णाली रहेकाले धेरै सिट पाउनुपर्ने दाबी गरेको छ ।
कर्णाली प्रदेशमा प्रतिनिधि सभातर्फ १२ र प्रदेश सभातर्फ २४ वटा निर्वाचन क्षेत्र रहेकाे छ । यी दुवै दलले ५० प्रतिशत सिट पाउनुपर्ने अडान राखेका छन् । त्यसैगरी एकीकृत समाजवादीले प्रदेश र प्रतिनिधि सभामा गरी १० वटा सिट दाबी गरेको छ । आफूहरूको सम्मानजनक उपस्थित हुने गरी सिट बाँडफाँड हुनुपर्ने मान्यता राखेको छ । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले कर्णालीका ७९ मध्ये ३२ पालिकामा जितेको छ ।
नेकपा माओवादी केन्द्रले २३ पालिका जितेको छ भने नेकपा एकीकृत समाजवादीले ४ पालिकामा नेतृत्व लिएको छ । यता नेकपा एमालेले १५ पालिकामा नेतृत्व लिएको छ भने पाँच वटा पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । #इकागज




खुल्ला प्रेस । २७ भाद्र २०७९, सोमबार १९:११