विभागले सच्यायो परिपत्र : एकल महिलाका सन्तानको आमाकै थर र ठेगानाबाट जन्मदर्ता हुने

काठमाडौँ ः एकल महिलाबाट जन्मेका बच्चालाई ‘मावलीकै थर’ बाट जन्मदर्ता प्रदान गर्ने भनी सरकारले जारी गरेको यसअघिको परिपत्रलाई आइतबार सच्याइएको छ ।

गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले चैत २२ गते स्थानीय पञ्जिकाधिकारीहरुलाई परिपत्र जारी गर्दै ‘मावली थर’ राख्ने व्यवस्था गरिएकोमा ‘बच्चा जन्मिँदा कायम आमाको थर र स्थायी ठेगाना राखी जन्मदर्ता गरिदिने’ भनी सच्याएको हो ।

आमाको थरको सट्टा मावली थर राखेर बच्चाको जन्मदर्ता गरिदिने भन्ने अघिल्लो परिपत्रपछि सार्वजानिक टिकाटिप्पणी भएपछि विभागले सच्याएको हो ।

विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले हस्ताक्षर गरी आइतबार जारी गरेको परिपत्रमा भनिएको छ, ‘बच्चाको जन्म दिने आमाको लैंगिक भूमिकालाई उच्च सम्मान गर्दै संविधानअनुसार प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामकरण र जन्मदर्ताको हक संरक्षण गर्न परिपत्रका सम्बन्धमा थप स्पष्ट पारिएको छ ।’

सच्याइएको परिपत्रमा सम्बन्ध विच्छेद भई आमासँग रहने छोराछोरीको सन्दर्भमा आमाको हालको स्थायी ठेगानाबाट, कारागारमा सजाय भोगिरहेका महिलाबाट जन्मिएको बच्चाको जन्मदर्ता गर्दा आमाकै स्थायी ठेगाना भएको वडा कार्यालयबाट, बालविवाह, बहुविवाहबाट जन्मेका बच्चाको कानुनबमोजिम तथा मातृत्व/पितृत्व पत्ता नलागेको, कुनै पनि परिवार नभएको प्रमाणित भएमा संरक्षकले दिएकै ठेगाना, नाम र थर राखी जन्मदर्ता पाउने बुँदाहरू थप गरिएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५