डुङ्गेश्वर गाउँपालिकामा जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन

दैलेखः दैलेखको डुङ्गेश्वर गाउँपालिकाले जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालनमा ल्याएको छ । जनताका गुनासा सुन्न र सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
पालिकामा निर्वाचित जनप्रतिनिधिहरूले कार्यक्रमको सुरुवात गरेका छन् । चालु आर्थिक वर्ष सुरु भएको महिना दिन नबित्दै गाउँपालिकाले उक्त कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । गाउँपालिकामा ६ वटा वडा रहेका छन् ।

हरेक वडामा वार्षिक दुई पटक कार्यक्रम सञ्चालन गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र खड्काले बताए । हरेक महिना एउटा वडामा कार्यक्रम हुने भन्दै गाउँपालिकाले वडा नम्बर १ बाट कार्यक्रम सुरु गरेको खड्का ले बताएका छन् । जिल्ला समन्वय समितिका सदस्य फत्तबहादुर डांगी सहित वडाबासीको सहभागितामा कार्यक्रम सुरु गरिएको जनाईएको छ ।

कार्यक्रममा सहभागी नागरिकहरूले बाढी र पहिरोले खेतबारीमा क्षति पुर्‍याएको, सडकका कारण घर तथा बस्तीमा क्षति पुगेको गुनासो गरेका थिए । उनीहरूले विपद्मा परेकालाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राख्दै खानेपानीको व्यवस्थापन, गुणस्तरीय शिक्षाबारे जनप्रतिनिधिलाई प्रश्न समेत गरेका थिए । बजेट वितरणमुखी हुन नहुने, लोहोरे खोला किनारमा तटबन्धको व्यवस्थापन गर्न र नाली सहितको सडक निर्माणमा ध्यान दिन गाउँपालिकालाई सुझाव पनि दिएका थिए ।
गाउँपालिका अध्यक्ष सुन्दरकुमार केसीले कार्यक्रम सुरुमै जनतामा देखिएको सक्रियता र जागरुकले कार्यक्रम प्रभावकारी हुनेमा ढुक्क रहेको बता्ए । निर्वाचित भइसकेपछि जनताका समस्या र आवश्यकता जनताकै माझमा गएर सुन्न र जवाफदिन प्रत्येक महिना एउटा वडामा जनतासँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्ने कामको थालनी गरिएको अध्यक्ष केसीको भनाई छ ।

एक पटक जितेर गएपछि जनप्रतिनिधिहरू फर्केर हेर्दैनन् भन्ने जनताको गुनासोलाई हामीले सम्बोधन गर्दैछौं, जनताको मत पाएर जितेपछि हामीले जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालनमा ल्याएका हौँ भन्दै अध्यक्ष केसीले जनतासँगको प्रत्यक्ष कार्यक्रमले जनताका समस्या, स्थानीय आवश्यकताहरू पहिचान हुने जिकिर गरे ।उपाध्यक्ष कलावती न्यौपानेले जनताका आवश्यकता बुझेर र उनीहरूका प्राथमिकता पहिचान गरी सोही अनुसार कार्यक्रम सञ्चालनमा ल्याउने बताइन ।
कार्यक्रममा जनताका स-साना आवश्यकतादेखि स्थानीयस्तरमा कसरी विकास गर्न सकिन्छ, गाउँपालिकालाई कसरी समृद्ध बनाउने, स्थानीय मागमा आधारित कार्यक्रमहरू कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल हुने उपाध्यक्ष न्यौपानेको भनाइ छ । वडाध्यक्ष श्यामबहादुर रानाले जनप्रतिनिधिहरू जनतामाझ प्रत्यक्ष रूपमा जान आवश्यक रहेको बताए ।
स्थानीय टोपबहादुर खत्रीले जनप्रतिनिधिहरूले जनताको माझमा सुन्ने र सुनाउने गरी सुरु गरिएको कार्यक्रम प्रशंसनीय भएको बताए । स्थानीय युवराज तिमिल्सेनाले गाउँपालिकाले सञ्चालनमा ल्याएको कार्यक्रम प्रभावकारी हुने धारणा राखेका छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५