दैलेखः दैलेखको भगवतीमाई गाउँपालिका–४ का नवीन बिसीले पाँच वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । त्यसअघि आफ्नो भान्साका लागि मात्र तरकारी खेती गर्ने उनको घरनजिकै मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएपछि व्यावसायिक कृषिमा लागेका छन् । लोकमार्ग सञ्चालनमा आएपछि उनले उत्पादन गरेको आलु, गोलभेँडा, काउली, बन्दा, सिमीलगायत तरकारीले सहजै बजार पाएको छ ।
बजार खोज्न अन्यत्रै जान नपर्ने भएपछि दुई रोपनीबाट सुरु गरेको तरकारी खेती अहिले ३० रोपनीमा विस्तार भएको छ । मूल्य कम पाए पनि घरमा तरकारी सडेको छैन । लोकमार्ग निर्माण भएसँगै जाजरकोट जिल्लाका सुयाडा, दसेरा, थलह बजार र दैलेखको बेस्तडा बजारदेखि दैलेख बजारसम्म उनले उत्पादन गरेको तरकारी पुग्छ । घरआँगनमै तरकारी सङ्कलनका लागि शीतभण्डार बनेका कारण पनि सहज भएको छ ।
नारायण नगरपालिका–२ का सर्वराज भण्डारी लामो समय सरकारी सेवा गरी १० वर्षदेखि निरन्तर तरकारी खेती गरेका छन् उनलाई विगत चार वर्षदेखि डोकोमा तरकारी बोक्नु परेको छैन । घरआँगनबाट पक्की सडक (मध्यपहाडी लोकमार्ग) सञ्चालनमा आएपछि अहिले घरबाटै विभिन्न स्थानसम्म सहजै पुग्छ । मध्यपहाडी लोकमार्गको बाटो भएर दैलेख बजार आउनेजानेले नै अर्गानिक तरकारी भन्दै लिन थालेपछि उनलाई तरकारी बिक्रीको चिन्ता छैन ।
उनि मात्र होइन, दैलेख जिल्लाको पूर्वको जगन्नाथदेखि पश्चिमको राकमकर्णालीसम्म जोड्ने मध्यपहाडी लोकमार्गमा गाडी गुड्न थालेपछि अन्य गाउँलेको स्थानीय उत्पादनले सजिलै बजार पाएको छ । जगन्नाथ र मेहेलतोली मात्र नभएर मध्यपहाडी लोकमार्गमा गाडी चल्न थालेपछि लोकमार्गले जोडेका विभिन्न बस्तीका स्थानीयको उत्पादन बजारसम्म गएको छ । त्यसका साथै बजारबाट ल्याउनुपर्ने दैनिक उपभोग्य वस्तुदेखि अन्य सरसमान सहजै केही घण्टामै किनेर घरमा पुग्छ । मध्यपहाडी लोकमार्ग दैलेखको पूर्वमा जगन्नाथदेखि पश्चिममा राकमकर्णालीसम्म पहुँच पुगेपछि सर्वसाधारणको दैनिकीमा व्यापक परिवर्तन आएको छ । किसानको भनाइमा लोकमार्ग भाग्य निर्माण गर्न महत्वपूर्ण भएको छ ।
जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख राजु भुजेलले पुष्पलाल मध्यपहाडी राजमार्ग जोडिएका पालिकामा कृषिसम्बन्धी धेरै कार्यक्रम सञ्चालन भएको जानकारी दिए उनले कृषक नै उत्साही भएर कृषि कर्म गरिरहेको भन्दै उत्पादन भएका वस्तुको बजारीकरण सजिलै भएका कारण त्यसमा कार्यालयले उनीहरूको आवश्यकता पहिचान गरी विभिन्न सहयोग गरेको बताए । राष्ट्रिय गौरवको आयोजनाको मध्यपहाडी राजमार्गले दैलेख जिल्लाका ११ स्थानीय तहमध्ये सात स्थानीय तहलाई जोडेको छ भने यसको लम्बाइ १२५ किलोमिटर छ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग सडक आयोजना कार्यालय दैलेखका आयोजना प्रमुख इन्जिनियर अञ्जु परियारले दैलेख जिल्लाभित्र पर्ने १२५ किलोमिटरमध्ये डेढ किलोमिटर मात्र कालोपत्रे गर्न बाँकी रहेको जानकारी दिइन् ।उनले डेढ किलोमिटर सडकमा विवाद देखिएपछि उक्त निर्माण कार्य रोकिएको बताइन। उनले भनिन्, “दैलेख जिल्लाको नारायण नगरपालिका–२, जाहरकोट खण्ड र नारायण नगरपालिका–६ को सनक मोड निर्माण गर्न बाँकी रहेको छ ।” १२५ किलोमिटर सडक निर्माण सम्पन्न हुने चरणमा रहेको र एक वर्षभित्र निर्माण सम्पन्न गरी सडक डिभिजन सुर्खेतलाई उक्त सडक हस्तान्तरण गरिने आयोजनाका प्रमुख परियारको भनाइ छ ।
जिल्लाको भौतिक विकासमा कोसेढुङ्गा भएको पुष्पलाल (मध्यपहाडी) लोकमार्गले यहाँका बासिन्दाको जीवनशैली परिवर्तनमा महत्वपूर्ण टेवा पु¥याएको नागरिक समाजका अगुवा वीरबहादुर भण्डारी बताउछन् । उनले जिल्लामा यति ठुलो आयोजना भित्रिएर निर्माण हुँदै गर्दा दैलखको पूर्वमा जगन्नाथदेखि राकमकर्णालीसम्मका विभिन्न स्थानमा बजार विस्तारसँगै किसानले उत्पादन गरेको तरकारी सहजै बिक्री हुने गरेको छऽ दैलेखका भगवतीमाई गाउँपालिका, नारायण नगरपालिका, दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, ठाँठीकाँध गाउँपालिका र आठबिस नगरपालिकाका भूभाग समेट्दै मध्यपहाडी लोकमार्ग सुदूरपश्चिम प्रदेशको अछाम जिल्ला प्रवेश गरेको छ । गाेरखापत्रबाट
खुल्ला प्रेस । १५ आश्विन २०८१, मंगलवार २१:०४