दैलेख: यति बेला दैलेखका व्यापारीमा निराशा छाएको छ । दैलेखको व्यापार ब्यावसाय प्रत्येक वर्ष घट्दो छ । केही वर्षयता व्यापार व्यवसायमा संलग्न भएका दैलेखका धेरै व्यापारीहरू गम्भीर आर्थिक सङ्कटमा परेका छन् । कोरोना महामारीको समयमा घटेको व्यापार अहिलेसम्म पनि सन्तोषजनक छैन । कोरोनाको कहरपछि व्यापारले अपेक्षित रूपमा गति नलिएपछि धेरै व्यापारी निराश छन् भने कतिपय त व्यापार नै बन्द गर्ने अवस्थामा पुगेका छन् ।
दैनिक आवश्यक सामानदेखि लिएर लत्ताकपडा, इलेकट्रोनिक्स, सुनचाँदी लगायतका सामानको व्यापार गर्दै आएका व्यापारीहरू अहिले बिहान बेलुकाको खर्च जुटाउन सङ्घर्षरत छन् । जिल्ला सदरमुकामका कपडा व्यापारी प्रेम बिशुन्के भन्छन् ‘दैनिक खर्च उठाउन गाह्रो भइसक्यो । पसलको घर भाडा, कामदारको तलब, बैङ्कको किस्ता—सबैतिरको चाप छ । यस्तो अवस्थामा कैयौँ व्यापारी छोड्ने मनस्थितिमा पुगेका छन् ।’
उनको जस्तै अनुभव अरू व्यापारीहरूको पनि छ । पछिल्लो समयमा उपभोग्य सामग्रीको मूल्यमा अत्यधिक वृद्धि हुँदा ग्राहकको खर्च गर्ने क्षमता घटेको छ । ग्राहक घटेपछि व्यापारीको आम्दानीमा भारी गिरावट आएको छ । यस्तो अवस्थामा बैङ्क तथा सहकारी संस्थाबाट लिएको ऋणको ब्याज तिर्न सक्ने स्थिति नरहेको धेरै व्यापारीहरू बताउँछन् ।
महिना दिनको कमाइले दुई गुणा ऋण र खर्च धान्नुपर्छ, व्यवसायी पृथ्वी खत्रीको गुनासो छ, यस्तो व्यापार कसरी चलाउने ? नयाँ लगानी सहित व्यापार सुरु गरेका युवाहरूको अवस्था झनै गाह्रो छ । सुरुमा सोचे अनुसार बजारमा ग्राहकको उपस्थिति नहुनु, बजारको माग राम्रोसँग नबुझिनु, र अनावश्यक खर्चले व्यापार घाटामा गइरहेको व्यापारीहरूको अनुभव छ । त्यस्तै, स्थानीय तह तथा सरोकारवालाले व्यवसायीहरूलाई आवश्यक तालिम, बजार पहुँच, प्राविधिक सहयोग, लगानीमैत्री वातावरण जस्ता कुराहरूमा सरकारको चासो छैन । बैङ्क तथा सहकारी संस्थाले व्यापारलाई सघाउन दिएको ऋण नै अहिले व्यापारीका लागि भारी बोझ बन्न पुगेको छ । प्रत्येक महिनाको किस्ता, जरिवाना र चर्को ब्याजले व्यापारी मानसिक तनावमा छन् ।
दुल्लु नगरपालिका–८ चगत्रामा विगत १२ वर्षदेखि सुनचाँदी पसल गदै आएका हर्क सुनारको पसलमा पनि पहिलेको जस्तो ग्राहक आउँदैनन्, तिज सकिएर दसैँ आउन लाग्दा पनि पसलमा ग्राहक आउन छोडिसके, किस्ता तिर्न ढिला भयो भने बैङ्कले फोन गर्छ, कहिलेकाहीँ सम्पत्ति लिलामीको धम्की पनि आउँछ । यस्तो अवस्थामा हामी कता जाने ? उनले प्रश्न गरे ।
सरकारले दैलेख जस्तो दुर्गम क्षेत्रमा व्यवसाय संरक्षणका लागि कुनै प्रभावकारी नीति ल्याउन नसकेको व्यापारीहरूको आरोप छ । यातायात समस्या, स्टक व्यवस्थापनको अपुगता, कर छुट नहुनु, र व्यवसाय प्रोत्साहन योजनाको अभावमा व्यापारीहरू एक्लिएर बसेका छन् । हामी त केवल व्यापार गर्छौँ, तर राज्यले हेरचाह गर्दैन, सरकारले सही समयमा व्यवसाय संरक्षणका लागि स्पष्ट नीति, सहुलियत ऋण, कर छूट, तालिम, बजार प्रवर्द्धन र प्राविधिक सहयोगको व्यपारीहरुले माग गरेका छन् ।
यद्यपि सबै व्यापारी निराश छैनन् लामो समयदेखि सदरमुकाममा खाद्य खुद्रा व्यापार गर्दै आएका व्यापारी दानबहादुर थापा भन्छन्, “समयको माग अनुसार व्यापार गर्न सकियो भने घाटा हुँदैन । ग्राहकले खोजेको सामान दिन सक्नुपर्छ । पहिले जस्तो ५–६ महिनासम्म पुरानो सामान बिक्री गर्ने समय अब छैन । ग्राहकको रुचिअनुसार, नयाँ सामान दिन सकियो भने व्यापार घाटा हुँदैन ।” उनले व्यापारमा टिक्नका लागि अनुकूलन र नयाँ सोच आवश्यक रहेको बताउँछन् । ४–५ वर्षअघिको सामान राखेर व्यापार चलेन भन्नु हुँदैन,” थापा भन्छन्, “ग्राहक के खोजिरहेको छ, त्यो बुझेर व्यापार गरे घाटा हुँदैन ।” उनी अझै पनि मुनाफामा रहेको बताउँछन् ।
देशको आर्थिक समृद्धिका लागि व्यवसायी वर्गलाई सशक्त बनाउने नीति र वातावरण आवश्यक छ । वर्तमान परिस्थितिमा दैलेखका व्यापारीहरू सरकार र सरोकारवाला निकायसँग व्यावसायिक सुरक्षाको प्रत्याभूति र सहयोगको अपेक्षा गरिरहेका छन् । पछिल्लो बजारको समस्यालाई मध्यनजर गदै दैलेख उद्योग वाणिज्य सङ्घले पछिल्लो समय चासोको विषयमा हेरेको देखिएको छ । उद्योग वाणिज्य सङ्घ दैलेखका अध्यक्ष नरेन्द्र थापाले व्यापारीको समस्यालाई राम्रोसँग नजिकबाट हेरको बुझेको बताए । उनका अनुसार व्यापार घट्नुको समस्या दैलेखको मात्र नभई यो समस्या अहिले देशभरिका व्यापारीको हो । यसको विषयमा सरकारले चासोको विषयमा हेर्नु पर्छ, । व्यापारीको समस्यालाई तत्काल समस्याको समाधान गर्नु पर्छ । व्यपारीहरुलाई कम ब्याजदरमा ऋण दिने व्यवस्था मिलाउनु पर्छ । यो विषयमा उद्योग वाणिज्य सङ्घ पनि व्यापारीको साथमा छ र व्यापारीको समस्यालाई बुझेर काम गर्ने छौँ ।
तर समस्याको घेरा व्यापारीहरूमा मात्र सीमित छैन । गाउँघरका सर्वसाधारणहरू पनि आर्थिक सङ्कटमा परेका छन् । सहकारी तथा बैङ्कबाट लिएको ऋणको सावाँ ब्याज तिर्न नसकेर गाउँका धेरैजसो मानिसहरू परिवार सहित भारततर्फ जान बाध्य छन् । कतिपयको त घरजग्गा नै लिलामीमा परेको छ । ऋणकै कारण गाउँहरू सुनसान बनेका छन्, घरमा ताला लागेका छन् । कामको खोजीमा प्रदेश जाने र सहर केन्द्रित बसाइ सराई गर्ने प्रवृत्तिले ग्रामीण बस्ती खालि हुँदै गएका छन् ।
अनुगमनमा सम्पर्कमा आउँदैनन् व्यापारी
जिल्ला प्रशासन कार्यालय दैलेखले अनुगमन गर्दा व्यापारीहरू सम्पर्कमा आउँदैनन् भन्ने गुनासो आउने गरेका छन् । बजारमा जिल्ला प्रशासनले बेलाबेलामा अनुगमन गर्ने गरेको र अनुगमनका क्रमा फेला परेका म्याद गुज्रेका सामान नष्ट गरेपनी प्रशासनले अनुगमन गर्ने सूचना पाएका व्यापारीहरूले व्यवसाय बन्द गर्ने प्रवृत्ति बढेको गुनासो सार्वजनिक रूपमा नै आउने गरेका छन् ।
जिल्ला प्रशासनले भाद्र ८ गते दैलेख सदरमुकामका १५ वटा पसल, व्यवसाय अनुगमन गरी ३२ हजार ३ यस ४८ रुपैयाँ बराबरको म्याद गुज्रेका पेय पदार्थ र खाद्य सामग्री जफत गरी नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यस्तै, गुणस्तरहीन र म्याद गुज्रेका सामग्री बिक्री गर्ने तीन पसललाई कुल २५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर के.सी.को संयोजकत्वमा प्रशासन कार्यालय, नारायण नगरपालिका, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय र नेपाल प्रहरीको संयुक्त टोलीले लोकतान्त्रिक चौकदेखि देवकोटा चौकसम्म अनुगमन गरेको थियो । उपभोक्ता हित संरक्षण ऐन २०७५ र नियमावली २०७६ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आगामी दिनमा पनि बजार अनुगमनलाई नियमित रूपमा अगाडि प्रशासनको तयारी छ । अनुगमन गर्दा सम्पर्कमा नआउने व्यापारीको पनि रेकर्ड राख्ने प्रशासनले जनाएको छ ।
खुल्ला प्रेस । १८ भाद्र २०८२, बुधबार १८:५९