दैलेखः सामाजिक सेवा क्षेत्रमा सक्रिय सोसेक नेपालले आफ्नो २८ औं वार्षिक उत्सव तथा साधारण सभा सम्पन्न गरेको छ । बुधबार जिल्ला समन्वय समितिको हलमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले सोसेक नेपालले समाजमा उत्कृष्ट योगदान गर्दै आएको बताउँदै आगामी दिनमा पनि सामाजिक सेवाका कामलाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले सामाजिक सेवा कागजमा मात्र सीमित नभई व्यवहारमै देखिनु जरुरी रहेको उल्लेख गर्दै, “देशको विकासका लागि विपन्न नागरिकको जीवनस्तर सुधार आवश्यक छ, यसका लागि ज्ञान, व्यवहार र अनुशासन प्रति ध्यान दिनुपर्छ” उनले भने । साथै, शिक्षा जागिरेमुखी नभई व्यवसायिक र उद्योगमुखी हुनुपर्ने सुझाव पनि दिएका छन् ।
विशेष अतिथि प्रतिनिधि सभा सदस्य सीता कुमारी रानाले सोसेक नेपाल संकटकाल देखि निरन्तर विपन्न परिवारका लागि काम गर्दै आएको भन्दै संस्थाले विकासमुखी सोचसहित काम गर्नुपर्नेमा जोड दिइन् ।
त्यस्तै, जिल्ला समन्वय प्रमुख नमरामज शाहीले संस्थाले स–साना कामबाट ठूलो उपलब्धि हाँसिल गर्न सक्ने प्रमाण देखाएको भन्दै प्रशंसा गरे । उनले राउटे समुदायको जनसंख्या घट्दै गएको विषयमा चिन्ता व्यक्त गर्दै शिक्षा क्षेत्रको सुधारमा सबै पक्षले चासो दिनुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले विभिन्न जिल्लामा फरक–फरक क्षेत्रमा काम गर्दै आएको सोसेक नेपाललाई शुभकामना दिँदै दैलेख, कालिकोट लगायत जिल्लामा सञ्चालन गरिएको बाल हेल्पलाइन र सेफ हाउस सेवाको प्रशंसा गरे ।
सोसेक नेपालका कार्यकारी निर्देशक हिरा सिंह थापाले संस्थाले दलित, महिला र विपन्न समुदायका लागि निरन्तर काम गर्दै आएको जानकारी दिए । उनले समस्यामा परेका महिलाले सोसेक नेपाललाई ‘माइतीघर’को नजरले हेर्ने गरेको उल्लेख गर्दै राउटे समुदायका लागि राज्यले विशेष चासो दिनुपर्ने र मासिक भत्ता उपलब्ध गराउनुपर्ने माग गरे । यसैगरी, सेभ द चिल्ड्रेनका जिल्ला संयोजक चेतराज पाध्याले जोखिममा रहेका बालबालिकाको उद्धार तथा संरक्षणमा सोसेक नेपालले गरेको काम प्रशंसनिय रहेको भन्दै २८ वर्षको लामो यात्रामा संस्थाले राम्रो पहिचान बनाएको उल्लेख गरे ।
कार्यक्रममा अतिथिका रुपमा बोल्दै गैसस महासंघका अध्यक्ष दिलकुमारी चन्दसहित अन्य अतिथि तथा कार्यक्रममा सहभागीहरूले सोसेक नेपालले गरेको कामको प्रशंसा गरेका थिए ।
सोसेक नेपालका अध्यक्ष मञ्जु कुमारी खड्काले समापन कार्यक्रममा बोल्दै अब हामी नयाँ रणनितिका साथ अगाडी बढ्नुपर्ने बताइन् । उनले सेवामुलक सेवाहरु अझै सोसेक नेपालले जनता सामु सकरात्मक र प्रभावकारी रुपमा लिदै उत्पादनमुखि तर्फ अबका कार्यक्रमहरु लिनुपर्ने बताईन् ।
खुल्ला प्रेस । ११ भाद्र २०८२, बुधबार १९:४५