दैलेख: पत्रकार डेकेन्द्रराज थापाको हत्या भएको १८ वर्ष पुगेको छ। पत्रकार थापालाई २०६१ साउन २७ गते नौमुलेको द्धारीमा तत्कालीन माओवादी कार्यकर्ताहरूले हत्या गरेका थिए। २०६१ असार १२ गते अपहरण गरी डेढ महिनापछि २०६१ साउन २७ गते तत्कालीन नेकपा माओवादीद्वारा प्रेस विज्ञप्ति जारी भएपछि पत्रकार थापाको हत्या गरेको घटना सार्वजनिक भएको थियो।
मरणासन्न हुने गरी कुटेपछि जिउँदै खाल्डोमा गाडेर हत्या गरेको चार वर्षपछि पत्रकार थापाको अस्थिपंजर फेला परेको थियो। थापाको शव गाडिएको ठाउँ नौमूले गाउँपालिका-३ द्धारीबाट कंकाल निकाली दाहसंस्कारसँगै २०६५ भदौ १२ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा ९ जना विरुद्ध किटानी जाहेरी दिइएको थियो।
न्याय प्राप्तीका लागि त्यसबेलादेखि हालसम्म नेपाल पत्रकार महासंघ, मानव अधिकारवादी संस्थाहरूले निरन्तर संघर्ष गरिरहेका छन्। थापाको हत्या भएको १८ वर्ष बितिसक्दा समेत हत्यामा संलग्न मुख्य दोषिहरू अझै पक्राउ पर्न नसकेको नेपाल पत्रकार महसंघ दैलेखका अध्यक्ष यज्ञराज थापाले बताए। स्थानीय प्रशासनको वेवास्ताका कारण न्यायालयले गरेको फैसलासँग जोडिएका मुख्य अभियुक्त अहिलेसम्म फरारको सूचीमा हुनु दुःखद् भएको बताए।
उनले थापाको हत्यामा संग्लनमध्येका मुख्य अभियुक्तलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीमा लैजानुपर्ने माग गरे। मुख्य अभियुक्तलाई पक्राउ नगरिए दैलेखका पत्रकार पुनः आन्दोलन गर्न बाध्य हुने अध्यक्ष थापाको भनाइ छ। पत्रकार थापाको हत्या गरेको १८ वर्ष पुग्दापनि हत्यामा संलग्न मुख्य अभियुक्तसहित तीनजना अझै दैलेख प्रहरीको फरार सूचीमा छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक नरेश विकका अनुसार मुक्ति भन्ने बमबहादुर खड्का, भक्तिराम लामिछाने र केशव खड्का फरारको सूचीमा छन्।
शुक्रबारर पत्रकार डेकेन्द्रराज थापाको १८ औँ स्मृति दिवसको अवसरमा आयोजित दैलेखको समृद्धि र सञ्चार विषयक अन्तरक्रिया कार्यक्रममा प्रतिनिधि सभा सदस्य रविन्द्रराज शर्माले दैलेखमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भइसकेको उल्लेख गरे। नेपाल पत्रकार महासंघद्वारा आयोजित उक्त कार्यक्रममा सांसद शर्माले जिल्लाको विकास र समृद्धिका लागि सम्भावनाहरूको खोजी गरिनुपर्ने बताए।
नेकपा एमाले दैलेखका अध्यक्षसमेत रहेका शर्माले जिल्लाको समग्र विकासका लागि पहिला पूर्वाधार विकास अनिवार्य रहेको औल्याए। जिल्लामा विभिन्न ठूला राष्ट्रिय गौरबका आयोजनाहरू सञ्चालन भइरहेको उल्लेख गर्दै सांसद शर्माले ती आयोजनाहरू निर्माणमा सुस्तता स्वीकार्य नहुने बताए।
जिल्लामा पूर्वाधार विकासका लागि आएको बजेट कार्यान्वयन हुन नसक्नुको पछाडि निर्माण व्यवसायी पनि कारकतत्व रहेको सांसद शर्माले बताए। उनले आफू २०५४ मा नारायण नगरपालिकाको मेयर हुँदा पहिलो पटक नारायण क्याम्पस स्थापना गरेको बताउँदै अहिलेसम्म जिल्लाभर पाँचवटा क्याम्पस स्थापना भइसकेको बताए। ती क्याम्पससहित अन्य सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्न आफू तल्लिन रहने उनको भनाइ छ। उनले जिल्लामा किसानका लागि बाँडिएको भैसी, बाख्रा तथा बंगुर खरिदमा अनियमितता भएको आशंका व्यक्त गरे।
अर्को प्रसंगमा सांसद शर्माले पत्रकार डेकेन्द्रराज थापा अभिभावकत्व लिनसक्ने क्षमता भएको व्यक्ति रहेको बताए। उनले पत्रकार थापाको हत्यामा संलग्न दोषिलाई कानूनी कारबाहीको दायरामा ल्याएर पीडितलाई न्याय दिनुपर्ने औल्याए। स्मृति दिवसको अवसरमा शुक्रबार बिहान दैलेख सदरमुकामस्थित डेकेन्द्र चोकमा रहेको पत्रकार थापाको शालिकमा माल्यारोपण गरिएको थिए ।




खुल्ला प्रेस । २७ श्रावण २०७९, शुक्रबार २१:५७