दैलेख ः भगवतीमाई गाउँपालिकामा एक विद्यालयको ८ कोठे भवनको विषय लिएर विद्यालय व्यवस्थापन समितिका अध्यक्षले प्राधानाध्यापक माथि अर्भद ब्यवहार गरेका छन् ।
अध्यक्ष नन्द खड्काले ज्वाला उच्च माध्यमिक विद्यालय बेस्तडाका प्रधानाध्यापक एवं शिक्षक महासंघका कर्णाली प्रदेश अध्यक्ष देवेन्द्रराज अधिकारीमाथि अभद्र व्यवहार गरेका हुन् । भगवतीमाई गाउँपालिकाका अध्यक्षको कार्यकक्षमा बोलाई आफूलाई हातपात गरिएको प्रधानाध्यापक अधिकारीले बताए ।
सोही विद्यालयका अध्यक्षसमेत रहेका नन्द खड्काले अपमानजनक व्यवहार गर्नुका साथै पानीको बोतलले समेत हिर्काएको उनको भनाइ छ । ‘विद्यालयको विषयमा कुरा गर्नु छ भन्दै मलाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाको कार्यकक्षमा बोलाइयो र म गएँ,’ अधिकारीले भने, ‘कुरा गर्दागर्दै एक्कासी ममाथि आक्रोश पोख्दै गालीगलौज गर्दै अध्यक्षको टेबुलमा राखिएको पानीको बोतले हाने ।
हुनत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बनेका नन्द खड्का जिल्ला समन्वय समितिको सदस्य भएपछि उनले स्वतः अध्यक्ष पद छोड्नुपर्ने कानुनी प्रावधान छ । अध्यक्ष पद छोडेपछि नयाँ अध्यक्ष चयन गर्नुपर्ने थियो, तर खड्काले बलमिचाइँ गरेर विगत दुई वर्षदेखि अध्यक्ष पद छोडेका छैनन् । उनले नछाड्दा तत्कालीन समयमा निर्माण गरिएको विद्यालयको कामको फरफारक हुन सकेको छैन भने विद्यालयका अन्य शैक्षिक गतिविधिहरुमा पनि समस्या भएको छ । अधिकारीका अनुसार विद्यालयको ८ कोठे भवन र विद्यालयमा सामाजिक परीक्षण गर्ने विषयमा कुरा भइरहेको थियो ।
भवनको अझै फरकफारक हुन नसकेको, विद्यालय व्यवस्थापन समितिको अध्यक्षको पद सकिएको दुई वर्ष भइसकेको, विद्यालयको शैक्षिक सुधारका विषयमा विद्यालय व्यवस्थापन समिति तत्काल नयाँ गठन गर्नुपर्ने, भवनको प्रभावकारीताका बारेमा जनप्रतिनिधिहिरुले ख्याल गर्नुपर्ने लगायत विषयमा कुरा भएका थिए । कुरा हुँदै जाँदा खड्का एक्कासी आक्रोशित बनेको उनले बताए । आफूमाथि राजनीति पूर्वाग्रह साँधेर नचाहिँदा आरोप लगाइएको उनको गुनासो छ ।
गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले विद्यालयको शैक्षिक सुधारका बारेमा शिक्षा समितिमा छलफल भएको र सोही अनुसार सामाजिक परीक्षण गर्ने विषयमा कुरा हुँदै गर्दा आपसमा भनाभन भएको बताए ।
त्यही क्रममा खड्काले अधिकारीलाई पानीको बोतले हिर्काएको र पुनः अर्को बोतल हिर्काउँदा आफूले खोसेको उनले जानकारी दिए । शिक्षक माथि गरेको अभद्र व्यवहारलाई लिएर शिक्षक संघ–संगठनहरुले आपत्ति जनाएका छन् ।




खुल्ला प्रेस । २१ आश्विन २०७८, बिहीबार ०२:२३