दैलेख ः नारायण नगरपालिका नगर प्रमुख रत्नबहादुर खड्काले अधिकारकर्मीहरूले स्थानीय सरकारका कामलाई कमीकमजोरी मात्रै खोतल्ने सबै कामलाई नकारात्मक सन्देश प्रवाह गर्ने गरेको गुनासो गरेका छन् ।
११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सुन्दर नेपाल संस्थाले आयोजना गरेको लैङ्गिक हिंसा रोकथामका लागि सरोकारवालाहरूबिच सहकार्य र समन्वय विषयक अन्तरक्रिया कार्यक्रममा उनले आफ्नो बिचार राखेका हुन् ।
सरकारी निकायले गरेको राम्रा कामहरूको ‘यो चाहिँ राम्रो भयो’ भनेर प्रचार गरे भएका कमजोरी औँल्याउनु पनि स्वाभाविक मान्न सकिन्थ्यो नगर प्रमुख खड्काको टिप्पणी छ । उनले महिला माथि हुने सबै खाले हिंसा रोकथामका लागि सरकारी र गैरसरकारी सबै क्षेत्रको सहकार्य जरुरी रहेको आवश्यकता औँल्याए ।
इन्सेकको मानव अधिकार रक्षक सञ्जालका जिल्ला सहसंयोजक लीला खत्रीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा गैरसरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष महारूप खत्री, सामाजिक सेवा केन्द्र (सोसेक)का रमा श्रेष्ठ लगायतले लैङ्गिक हिंसा रोकथाममा सरोकारवालाबिच सहकार्य विषयमा आफ्नो भनाई राखेका थिए ।
हरेक वर्ष मार्च ८ तारिकका दिन मनाइने अन्तर्राष्ट्रिय महिला दिवस यो वर्ष ११२ औँ वार्षिकोत्सव कार्यक्रम दैलेख सदरमुकाममा विविध कार्यका साथ मनाउने तयारी भएको छ । नारायण नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत निरक रावलको अध्यक्षतामा आइतबार बसेको पूर्व तयारी बैठकले उक्त निर्णय गरेको हो ।
मूल समिति दैलेखको निर्णय अनुसार मङ्गलवार फागुन २४ गते तदानुसार सन् २०२२ मार्च ८ तारिकका दिन मनाइने अन्तर्राष्ट्रिय महिला दिवस बिहान ११ बजे गणेश चोकबाट ¥याली सहित नगर परिक्रमा सकेर टुँडिखेल खुला मञ्चमा आयोजना गरिने छ ।
कार्यक्रममा बाल कलाकारहरूको नृत्य, बालविवाह रोकथाम सम्बन्धी सडक नाटक लगायतका सांस्कृतिक कार्यक्रम राखिएको बताइएको छ ।
सन् १९०९ मा संयुक्त राष्ट्र सङ्घको निर्णय अनुसार सन् १९१० मा कोपेनहेगनमा भएको दोस्रो अन्तर्राष्ट्रिय महिला सम्मेलनले ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा थालिएको हो ।
अमेरिकाको न्यूयोर्कमा सन् १८५७ मार्च ८ तारिकमा गार्मेन्ट र कपडा उद्योगका श्रमिक महिलाहरूले ८ घण्टा भन्दा बढी काम गराउन नहुने, कार्यस्थलमा महिलाको सुरक्षा र पुरुष सरह मताधिकारको माग राखी थालिएको आन्दोलनको निरन्तरता पछि संयुक्त राष्ट्र सङ्घले दिवस मनाउने निर्णय गरेको थियो ।




खुल्ला प्रेस । २३ फाल्गुन २०७८, सोमबार १९:२१