राज्यले दिने सेवा सुविधाबाट बञ्चित भएका रिजालले पाए ५१ बर्षमा नागरिकता

दैलेखः दैलेखको दुल्लू नगरपालिका–५ का दुर्गाप्रसाद रिजाल जन्मँदै दुबै खुट्टामा समस्या लिएर जन्मिए । दुबै खुट्टा नचल्ने भएकाले उनले विद्यालयसम्म पाइला टेक्न पाएनन् । उमेरले ५१ वर्ष पुगेका उनले नागरिकतासमेत पाउन सकेका थिएनन् । इलाका प्रशासन कार्यालय दुल्लूको टोली नागरिकता बोकेर घर पुग्दा रिजालको आँखामा हर्षका आँसु बग्न थाले ।
‘अहिलेसम्म देशको नागरिक बन्न सकेको थिइनँ,’ नागरिकता प्राप्त गरेपछि उनले भने, ‘अव राज्यले दिने सेवा–सुविधा पनि पाउने भएँ ।’

नागरिकता प्राप्त गरेसँगै अपाङ्गता परिचयपत्र प्राप्त हुने र सामाजिक सुरक्षा भत्ता पाउने आसमा उनी छन् । अपाङ्गता परिचयपत्र प्राप्तिको प्रक्रिया पनि सकिएको छ अव उनले क बर्गको (अपाङ्गता परिचयपत्र) पाउने भएका छन् । दुल्लु नगरपालिकाले जिल्ला अस्पतालसँग सहकार्य गरेर स्वास्थ्य परीक्षणपछि दुर्गालाई अपाङ्गता परिचयपत्र बनाइ सकेको छ । परिचय पत्र असार २६ गते उनको हातमा दिने तयारी छ ।
इलाका प्रशासन कार्यालय दुल्लूका शाखा अधिकृत अर्जुनबहादुर मल्लले दुर्गाप्रसादलाई घरमै पुगेर नागरिकताको प्रमाणपत्र दिइएको बताए । ‘शारीरिक रूपमा हिँडडुल गर्न असक्षम भएकाले घरमै नागरिकता हस्तान्तरण गरेका हौँ,’ उनले भने, ‘अन्य प्रक्रियामा सोसेक नेपालले सहजीकरण गरेको थियो ।’ सोसेक नेपालले दुल्लूमा ‘हातेमालो–हाम्रो आवाज, हाम्रो सहभागिता’ कार्यक्रम सञ्चालन गरिरहेको छ । यो परियोजना अन्तर्गत अपाङ्गता भएका नागरिकहरूको अधिकारको वकालत गर्ने गर्छ । सोसेकका कार्यकारी निर्देशक हिरासिंह थापाले दुर्गाप्रसादलाई नागरिकता उपलब्ध गराउने सम्पूर्ण प्रक्रिया उक्त कार्यक्रममार्फत सुरु गरिएको बताए ।
‘राज्यको कानुनी प्रक्रियामा नागरिकता नहुनु भनेको दुर्गाप्रसादका लागि अन्य सबै अधिकार वञ्चित हुनु हो,’ उनले भने, ‘हामीले उहाँको फाइल तयार पारेर दुल्लूस्थित प्रशासन कार्यालयसम्म पु¥यायौं र नागरिकता दिन सफल भयौँ ।’ अब उनको हातमा अपाङ्गता परिचयपत्र पनि हुने छ । नागरिकता नहुँदा राज्यले दिने हरेक सेवा सुविधाबाट उनि बञ्चित हुनुपरेको थियो ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५