व्यक्तिगत जीवनमा धक्का नपुर्‍याइदिन पलको आग्रह

काठमाडौं : नेपाली चलचित्र क्षेत्रका लोकप्रिय नायक पल शाह र गायिका समिक्षा अधिकारीबीचको प्रेम सम्बन्धको चर्चा चलचित्र नगरीमा निकै भइरहेको छ । पछिल्लो समय पल र समीक्षासँगै केही अन्य व्यक्ति बसेर गरेको छलफल भन्दै सार्वजनिक भएको अडियो रेकर्डका कारण यो विषय थप चर्चामा आएको छ ।

यसैबीच नायक पलले तथ्यहीन लाञ्छनाका आधारमा आफ्नो र गायिका समीक्षा अधिकारीको व्यावसायिक र व्यक्तिगत जीवनमा धक्का नपुर्‍याइदिन आग्रह गर्नुभएको छ । मंगलबार पलले सामाजिक सञ्जालमार्फत यस्तो अनुरोध गर्नुभएको हो । दर्शकसामु एक सक्षम अभिनेताका रूपमा उभिने प्रयास गर्दागर्दै आफूमाथि बारम्बार प्रहार भएको उहाँको भनाइ छ ।

पलले लेख्नुभएको छ, ‘समाजलाई सकारात्मक बाटोतर्फ उन्मुख गराउने प्रकारका गतिविधि र खदिलो, दरिलो मनोरञ्जनात्मक प्रस्तुति लिएर आउने प्रण पनि गर्दछु । तर, नेपाली समाजभित्र संघर्ष गर्न अनेकन बाधा र अड्चन आउने रहेछन् । त्यसमध्येमा कतिपय कृत्रिम समस्या खडा गरी एउटा संघर्षको चरणमा रहेको कलाकारलाई बारम्बार प्रहार हुँदा नमिठो अनुभूति हुँदो रहेछ ।’

यस्तै सार्वजनिक अडियो बारे पनि पलले आफ्नो धारणा राख्नुभएको छ । पलले उक्त अडियोमा सत्यता नरहेको भन्दै आफ्नो आवाजसँग मिलाइएको भन्दै लामो स्टाटस लेख्नुभएको हो । ‘अनलाइन माध्यमहरूमा प्रकाशित समाचार र अडियो रेकर्डहरू हेर्दा र सुन्दा म स्वयं आश्चर्यचकित भएको छु । प्रसारित अडियो रेकर्डमा बज्ने आवाज मेरो आवाजसँग मिलेको जस्तो भए तापनि उक्त आवज मेरो हो भन्नेमा पूर्ण शंका रहेको, प्रविधिको कुटिल प्रयोगमार्फत जस्तोसुकै र जोसुकैको आवाजलाई भिन्नभिन्न ढंगबाट प्रयोग गर्न सकिने कुरा सामान्य भइसकेको छ’, पलले लेख्नुभएको छ, ‘फरक प्रसंग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका सम्वादहरूलाई हाम्रो बास्तविक जीवनसँग जोड्ने प्रयासमा रहनुभएका मेरा केही पुरुष सहकर्मी (व्यावसायिक प्रतिस्पर्धी) ले निज गायिकालाई मेराविरुद्ध बोल्न, प्रमाण सिर्जना गर्न लगातार उकास्ने गरेको जानकारी मलाई थियो, निज निर्दोष गायिकाले मेरा पुरुष सहकर्मीहरूले उकासे बमोजिम नै गर्दै गएको भन्ने कुरा पछिल्लो मिडिया रिर्पोटले थप पुष्टि गरेको छ ।’

नायक पलले आफूसँग भएका प्रमाणहरू आधिकारिक निकायले मागेको खण्डमा पेश गर्ने बताउनुभएको छ । उहाँले गायिका समीक्षालाई पटकपटक कसैले उकासेको आरोप लगाउनुभएको छ । पलले लेख्नुभएको छ, ‘मेरा सम्पूर्ण दर्शक महानुभावहरूको म प्रतिको भरोसालाई अक्षुण राख्न, निज गायिकालाई मेरा प्रतिस्पर्धी साथीले उकासेको अडियोलगायत अन्य प्रमाण मसँग सुरक्षित रहेको र ती सबुत प्रमाण आधिकारिक निकायले माग गरेको खण्डमा पेश गर्नेछु भन्ने प्रतिबद्धता व्यक्त गर्दै म र मसँग नाम जोडेर प्रकाशित उल्लेखि समाचारहरू वास्तविकता भन्दा धेरै टाढा रहेको हुँदा सोबाट भ्रमित नहुन हार्दिक अपिल गर्दछु ।’

तर, यता १७ वर्षीया गायिका समीक्षाले अभिनेता पल र आफू विवाह गर्ने भनेर प्रेममा बाँधिएको भन्दै पलले आफू र आफ्नो परिवारलाई धोका दिएको आरोप लगाउनु भएको छ । पल टाढिन थालेपछि आफूले पटक–पटक कानुनी उपचार खोज्ने प्रयास गरे पनि फसिने डरले त्यसतर्फ नलागेको समीक्षाको भनाइ छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५