बाढीपीडितको घर बास व्यवस्थापन गर्ने मन्त्री शाहीको प्रतिबद्धता

सुर्खेतः आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले सुर्खेतस्थित बाढीपीडितको उचित व्यवस्थापन गर्न तयारीमा जुट्ने बताएका छन् । मङ्गलवार बराहताल गाउँपालिका–२ गिरिघाटमा बसोबास गर्ने बाढीपीडितलाई भेट्दै मन्त्री शाहीले सो कुरा बताएका हुन् ।

प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयमार्फत राहत स्वरूप प्रति घरधुरी तीन लाख रुपैयाँ वितरण गरिसकिएको मन्त्री शाहीले बाढीपीडितलाई जानकारी गराए । उनले उक्त रकमबाट आफ्नो बसाई व्यवस्थापन गर्न सुझाव सम्मेत दिए ।

बाढिपीडितले आफूहरूलाई नगद रुपैयाँ भन्दा बस्ने घर बनाइदिन मन्त्री शाहीसँग अनुरोध गरेका छन् । उनीहरूले शिक्षा, स्वास्थ्य र रोजगारीको प्रबन्ध हुने स्थानमा बसोबास गराइदिन मन्त्री शाहीसँग आग्रह गरे । बाढीपीडितको आग्रह अनुसार मन्त्री शाहीले घर बास आवश्यक पर्ने पीडितहरूको लागत सङ्कलन गरी घर बास बनाउन योजना ल्याउने प्रतिबद्धता उनीहरूसँग व्यक्त गरे । बराहताल गाउँपालिका वडा नं. २ का अध्यक्ष योवराज कार्कीलाई दोहोरो बस्ती नपर्ने गरी घर बास आवश्यक पर्ने पीडितहरूको लगत सङ्कलन गर्न निर्देशन दिए ।

बाढीपीडितसँगको भेटघाट कार्यक्रममा राष्ट्रिय भूमि आयोग सुर्खेतका अध्यक्ष श्रीधर पौडेलेले बाढीपीडितहरूका लागि जग्गा उपलब्ध गराइने  र यसअघि आयोगले सङ्कलन गरेका फारमको आधारमा मूल्याङ्कन गरी बाढीपीडितलाई जग्गा उपलब्ध गराइने पौडेलले जानकारी दिएका छन् ।

त्यस्तै भेटघाट कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव प्रेमराज गिरी, उपसचिव निधिराज न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५