स्थानीय चुनावमा जुट्यो एमाले, सातै प्रदेशमा प्रशिक्षण गर्ने

सुर्खेतः समयमै स्थानीय तहको निर्वाचन गर्न सरकारलाई दबाब दिँदै आएको प्रतिपक्षी दल एमाले मिति घोषणासँगै तयारीमा जुटेको छ । सात वटै प्रदेशमा प्रशिक्षण दिएर एमालेले पार्टीका सबै कमिटीलाई चुनावमा परिचालन गर्ने भएको छ ।

प्रतिपक्षी दल एमाले स्थानीय तहको चुनावको मिति घोषणा गर्न माग गर्दै सडकमा उत्रिएको थियो । एमाले भ्रातृ संगठनहरूले दिनहुँ प्रदर्शन गर्दै आएका थिए । सरकारले ३० वैशाखमा एकैचरणमा स्थानीय चुनाव गर्ने घोषणासँगै एमाले तयारीमा जुटेको हो ।

चुनावकेन्द्रित पार्टी प्रशिक्षण १ फागुनदेखि १७ गतेसम्म सञ्चालन हुने एमालेले जनाएको छ । ‘एमाले अब चुनावमा केन्द्रित हुन्छ । प्रदेशस्तरीय प्रशिक्षणमार्फत् सबै कमिटीलाई परिचालन गरेर अघि बढ्छौँ,’ एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने ।

एमालेले प्रदेश १ को प्रशिक्षण फागुन १ र २ गते विराटनगरमा र मधेस प्रदेशको प्रशिक्षण ३ र ४ गते जनकपुरमा गर्ने निधो गरेको छ । त्यस्तै, बागमती प्रदेशको प्रशिक्षण ६ र ७ फागुनमा काठमाडौंमा गर्दैछ भने पोखरामा फागुन ८ र ९ गते गण्डकी प्रदेशस्तरीय प्रशिक्षण हुनेछ । त्यस्तै, ११ र १२ फागुनमा लुम्बिनी, १४ र १५ फागुनमा कर्णाली र १६ र १७ फागुनमा सुदूरपश्चिमस्तरीय प्रशिक्षण दिइने एमालेले जनाएको छ ।

२०७४ सालको स्थानीय निर्वाचनमा पहिलो भएको एमाले नेकपा विभाजन भई तीन वटा पार्टीमा टुक्रिएकाले स्थानीय तहको चुनाव चुनौतिपूर्ण देखिएको छ । त्यसमाथि सत्तारुढ गठबन्धनका पाँच दललाई एक्लै सामना गर्नुपर्ने स्थितिमा छ । गठबन्धनको चुनौतिलाई एक्लै सामना गर्न पार्टी पङ्क्तिलाई प्रशिक्षित गरेर चुनावी तयारीमा लागेको नेता ज्ञवालीले बताए ।

पार्टीको १०औँ राष्ट्रिय महाधिवेशन र विधान महाधिवेशनले पारित गरेका नीति, सिद्धान्त, कार्यक्रम र कार्यदिशाबारे प्रशिक्षण दिइने एमालेले जनाएको छ । स्थानीय तहको पहिलो कार्यकालका उपलब्धि र अनुभवहरू, पार्टीविरुद्ध फैलाइएका भ्रम र यथार्थ, स्थानीय तह निर्वाचनको तयारीबारे अगुवा नेता कार्यकर्तालाई प्रशिक्षण दिइने उपमहासचिव ज्ञवालीले बताए ।

प्रशिक्षणमा प्रदेशका इञ्चार्ज तथा सहइञ्चार्जहरू, प्रदेश कमिटी पदाधिकारीहरू, प्रदेश कमिटीका स्कुल तथा स्थानीय तह विभाग प्रमुखहरू, प्रदेश अन्तर्गतका सबै जिल्ला कमिटी इञ्चार्ज र सहइन्चार्जहरू सहभागी हुने एमालेले जनाएको छ । त्यस्तै, जिल्ला कमिटी पदाधिकारीहरू, जिल्ला स्कुल तथा स्थानीय तह विभागका प्रमुखहरू, एमालेबाट निर्वाचित जिसस प्रमुख वा उपप्रमुख, गाउँपालिका प्रमुख वा उपप्रमुख र पार्टीका पालिका अध्यक्षहरू सहभागी हुनेछन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५