माओवादी केन्द्रको महाधिवेशन : दुई सय ३६ केन्द्रीय कमिटी सदस्य चयन गर्दै सकियो

काठमाण्डौ : दुई सय ३६ जना केन्द्रीय कमिटी सदस्य चयन गर्दै नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन सकिएको छ । गएको पुस ११ गतेदेखि सुरु भएको माओवादी केन्द्रको आठौँ महाधिवेशन आइतवार सकिएको हो ।

महाधिवेशनले दई सय ३६ जना केन्द्रीय सदस्य चयन गरेको नेता कृष्णबहादुर महराले जानकारी दिए । खुलाबाट एक सय ११ जना र समावेशीबाट एक सय २५ जना गरी दुई सय ३६ जना केन्द्रीय सदस्यको नाम महाधिवेशनको बन्द सत्रले सर्वसम्मत रूपले पारित गरेको उनले बताए।

बाँकी ६३ जना केन्द्रीय सदस्य र पदाधिकारीबारे निर्णय भने सोमवार बस्ने नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकबाट टुङ्ग्याइने उनकाे भनाइ छ ।  त्यसैगरी महाधिवेशनले लेखा आयोग प्रमुखमा पेशल खतिवडा, अनुशासन आयोग प्रमुखमा टंक राई र निर्वाचन आयोग प्रमुखमा विष्णुपुकार श्रेष्ठलाई निर्वाचित गरेको नेता महराले जानकारी दिएका छन् । यसैबीच नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरूले पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनले सबैभन्दा अग्रगामी, समावेशी र लोकतान्त्रिक तरिकाले कन्द्रीय कमिटी चयन गरेको भन्दै खुसी व्यक्त गरेका छन् । उनीहरूले महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीप्रति कसैको पनि विमति नरहेको दाबीसमेत गरेका छन् ।

केन्द्रीय सदस्यमा निर्वाचित रामप्रसाद सापकोटा दिपशिखाले अन्य राजनीतिक दलभन्दा पनि बढी लोकतान्त्रिक ढङ्गले केन्द्रीय कमिटी चयन गरिएको भन्दै खुसी व्यक्त गरे ।

उनले ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलितसहितको केन्द्रीय कमिटी बनाएर आफ्नो पार्टीको महाधिवेशन ऐतिहासिक रूपमा सफल भएको दाबीसमेत गरे ।

महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीप्रति कसैको पनि विमति नरहेको अर्का नवनिर्वाचित केन्द्रीय सदस्य अनिल शर्माले बताए ।

उनले सर्वसम्मत रूपमा केन्द्रीय कमिटी चयन हुनु भनेको आफूहरूका लागि गौरवको विषय भएको र यसले देशको राष्ट्रिय राजनीतिलाई नेतृत्व गरेर अघि बढाउने  जनाएका छन् । माओवादी केन्द्रको पदाधिकारी भने केन्द्रीय समितिले चयन गर्नेछ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५