बेनी । बेपत्ता भएको ५२ वर्षपछि म्याग्दीका एक वृद्धको पारिवारिक पुनर्मिलन भएको छ । घरबाट हराएका बेनी नगरपालिका–४ थामडाँडाका ७५ वर्षीय जंगबहादुर भनिने गंगाबहादुर गुरुङ सम्पर्कमा आएका हुन् । २६ वर्षको हुँदा सम्पर्कविहीन भएका गुरुङ चार वर्षपछि कैलालीको चुरे गाउँपालिका–३ मस्यगाउँमा पुगेको खबर परिवारले पाएका थिए । त्यसपछि पनि उनी सम्पर्कमा नआएको परिवारले बताएका छन् ।
हालै स्थानीय युवाले फेसबुकमा गुरुङको तस्वीर राख्दै पुख््र्यौली थलो बेनी भएको र घर फर्कन चाहेको सन्देश राखेपछि उनी भेटिएका हुन् । नेपाल रेडक्रस सोसाइटी म्याग्दीको खोज तथा उद्धार सेवा केन्द्रले गुरुङको अवस्था र उनका आफन्तबारे खोजी गरेको थियो । खोजीका क्रममा थामडाँडाबाट उनको परिवार सम्पर्कमा आएपछि टेलिफोन संवाद गराइएको हो ।
कैलालीमा एक व्यक्तिको सहारामा बसिरहेका गुरुङ थामडाँडाका बलवीर गुरुङका माइला छोरा रहेको पुष्टि भएपछि रेडक्रस म्याग्दीको समन्वयमा भाइका परिवारसँग मुनर्मिलन गराइएको हो । रेडक्रस म्याग्दीका सभापति लेखबहादुर हमाल र अधिकृत धनञ्जयकुमार श्रेष्ठसहित रेडक्रसकर्मीको उपस्थितिमा गुरुङको पारिवारिक भेट गराइएको छ ।
साउन अन्तिम साता पूर्णानन्द पाण्डेले सामाजिक सञ्जालमा राखेको सन्देशका आधारमा खोजी गर्दै जाँदा गंगाबहादुर भेटिएको रेडक्रस म्याग्दीका शाखा अधिकृत श्रेष्ठले बताए । घरबाट हिँडेपछि तत्कालीन समयमा अत्तरियादेखि डडेल्धुराको महेन्द्र राजमार्गमा काम गर्दागर्दै ठेकेदारले पैसा नदिएपछि हिँडेर कैलालीको मस्यगाउँमा पुगेको गुरुङले बताए । उनले आफू त्यहाँ पुगेपछि एक जमिनदारको घरमा आश्रय लिएर माछा पालेर जीविका चलाइरहेको बताए । आफन्त लिन पुगेपछि उनलाई गाउँलेले सम्मानसहित बिदा गरेका थिए ।
खुल्ला प्रेस । २१ आश्विन २०७८, बिहीबार ०१:५८