शिक्षकलाई राजनीति गर्न रोके पार्टी सिस्टम कमजोर हुन्छ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरुलाई राजनीति गर्न नदिए पार्टी प्रणाली नै कमजोर हुने दाबी गरेका छन् ।

मंगलबार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै प्रचण्डले शिक्षकहरु सक्रियतापूर्वक राजनीतिक रुपान्तरणको काममा लाग्नुपर्ने बताए ।

‘नेपालमा जति पनि पार्टीहरु छन्, सबै शिक्षकहरुकै योगदानका कारण छन् । गाउँघरमा मजदुर किसानसँग एकाकार भएर राजनीतिक दलहरुलाई स्थापित गराउने र राजनीतिक विचार, नीति, योजना कार्यक्रमलाई जनताको बीचमा लैजाने शिक्षकहरु नै हुन्,’ उनले भने, ‘अब शिक्षकहरुले राजनीति गर्नु हुन्न भनिदिएपछि त्यो पार्टी सिस्टमलाई नै कमजोर पार्ने नीति बाहेक केही हुने छैन ।’

उनले अघि भने, ‘शिक्षकहरु अझ सक्रियतापूर्वक समाजसेवामा, सामाजिक रुपान्तरणका काममा, राजनीतिक रुपान्तरणका काममा लाग्नुपर्ने छ । टेक्नीकल्ली तपाईहरुलाई अप्ठ्यारो नपर्ने गरी सक्रियतापूर्वक जनताको बिचमा काम गर्ने वातावरण बनाइन्छ, बनाउनुपर्छ । तपाईंहरु दुविधामा नरहनु होला ।’

सम्बोधनका क्रममा उनले शिक्षकहरुलाई राज्यले अन्याय गरेको पनि बताए । राज्यले विभेदमा पारेकै कारण शिक्षकहरुले आन्दोलन गर्नुपरेको भन्दै उनले भभने, ‘हामीकहाँ शिक्षक भनेपछि सबभन्दा बढी विभेदमा पारिएको बौद्धिक जमात जस्तो मानिन्छ । यो नेगेटिभ कुरा हो, यसलाई हामीले पोजेटिभमा बदल्नु छ ।’

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५