दैलेखः जिल्ला प्रहरी कार्यालय दैलेखमा सरुवा भएर आएका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रवणकुमार बिकले शुक्रबार पत्रकारहरूसँग परिचयात्मक भेटघाट तथा छलफल गर्दै नागरिकको सुरक्षा प्रहरीको प्रमुख दाहित्व भएको बताए । दैलेख जिल्लाको समग्र वस्तुस्थिति, भूगोल र सुरक्षा अवस्थाबारे जानकारी लिन उनले दैलेख आएपछी पहिला पत्रकारहरूसंग भेट गरेको बताएका हुन । भेटघाटका क्रममा डीएसपी बिकले आफ्नो कार्यकालमा दैलेखी नागरिकले पूर्ण रूपमा अमनचयन र सुरक्षित वातावरणको महसुस गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाए। जिल्लामा शान्ति सुरक्षा कायम राख्न र कानुन कार्यान्वयन गर्न प्रहरीले कुनै कसर बाँकी नराख्ने उनले बताए।
छलफलका क्रममा उपस्थित पत्रकारहरूले जिल्लाका मुख्य समस्या र चुनौतीहरूबारे नयाँ प्रहरी प्रमुखको ध्यानाकर्षण गराएका थिए। पत्रकारहरूले दैलेख बजारको अस्तव्यस्त ट्राफिक व्यवस्थापन, ग्रामीण सडकहरूमा गाडी गुड्ने रोड पर्मिटको समस्या र सवारी साधनको सही व्यवस्थापन नहुँदा दुर्घटनाको जोखिम बढेको तर्फ सजग गराए।
यस्तै, जिल्लामा दिनानुदिन बढ्दै गएको लागूऔषध दुर्व्यसनी र यसको अवैध कारोबार नियन्त्रणका लागि प्रहरीले विशेष अभियान चलाउनुपर्नेमा पत्रकारहरूले जोड दिएका थिए। पत्रकारहरूले उठाएका विषय र गुनासाहरूलाई सम्बोधन गर्दै डीएसपी बिकले यी समस्या समाधान गर्न आफू तत्कालै लाग्ने र सधैं पत्रकारहरूसँग सहकार्य गरेर अघि बढ्ने बताए।



खुल्ला प्रेस । ८ जेष्ठ २०८३, शुक्रबार १९:०६