दैलेख आठौँ पटक पूर्ण खोप सुनिश्चितता घोषणा

कृष्ण अधिकारी
दैलेखः दैलेख जिल्लालाई आठौँ पटक पूर्ण खोप सुनिश्चितता, निरन्तरता तथा दिगोपनाको घोषणा गरिएको छ ।
जिल्ला समन्वय समिति दैलेखका प्रमुख तथा जिल्ला खोप समन्वय समिति अध्यक्ष नमराज शाहीको अध्यक्षतामा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष शाहीले भने,“दैलेखलाई पूर्ण खोप सुनिश्चित जिल्ला बनाउने अभियानमा सहभागी सम्पूर्ण स्थानीय तह, स्वास्थ्य संस्था, अभिभावक तथा समुदायलाई धन्यवाद दिन चाहन्छु । अब हामी यसको निरन्तरता र दिगोपनाका लागि अझ जिम्मेवार बन्नु पर्दछ ।”
सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर के.सी. ले खोपजस्तो निःशुल्क सेवा नलिनु आफैंमा कमजोरी भएको उल्लेख गर्दै,“सरकारले दिएको निःशुल्क खोपबाट कोही पनि वञ्चित हुनुहुन्न,” भन्नेमा जोड दिए ।
यस्तै, सम्पूर्ण पार्टिहरुको प्रतिनिधिको रुपमा बोल्दै नेपाली कांग्रेस दैलेखका सभापति मणिराम रेग्मीले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति भए पनि त्यो प्रत्यक्ष रूपमा नदेखिने बताए । उनले भने हामीले प्रत्यक्ष रुममा नदेखे पनि तथ्यांकमा स्पष्ट रूपमा देखिएको छ । त्यस्ता तथ्यांकलाई पत्रकार र राजनीतिक दलका प्रतिनिधिहरूले अध्ययन गरी मूल्यांकन गर्नुपर्नेमा जोड दिए ।
जिल्ला अस्पताल दैलेखका खोप अधिकृत थिरप्रसाद रेग्मीले खोप अभियानमार्फत शिशु मृत्युदरमा कमी आएको र प्रतिरोधात्मक स्वास्थ्य सेवामा उल्लेखनीय सुधार आएको जानकारी दिए । उनका अनुसार २०७४ साल असार ४ गते दैलेख तत्कालीन मध्यपश्चिम विकास क्षेत्रको पहिलो पूर्ण खोप घोषणा जिल्ला बनेको हो । अहिले सम्म दैलेख ८ पटकसम्म पूर्ण खोप सुनिश्चितता, निरन्तरता तथा दिगोपनाको घोषणा भइसकेको छ ।”

उनले अझै पनि केही बालबालिका खोप सेवाबाट वञ्चित भइरहेका भन्दै, सबैले मिलेर उनीहरूलाई पनि खोपको पहुँचमा ल्याउनुपर्ने आवश्यकता औँल्याए । साथै, नियमित अनुगमन र जनचेतना अभिवृद्धिमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।
जिल्ला जनस्वास्थ्य कार्यालय, सुर्खेतका प्रतिनिधि ओम पौडेलले खोपको पहुँच, प्रभावकारिता र चुनौतीहरूबारे प्रस्तुति दिँदै, साउनदेखि नै समुदाय, वडा, पालिका, जिल्ला र प्रदेशस्तरसम्म योजना बनाएर कार्यक्रम सञ्चालन गर्नुपर्छ,” भन्दै तथ्यमा आधारित योजना मात्र प्रभावकारी हुने स्पष्ट पारे । गैसस महासंघ अध्यक्ष भुवनकुमारी चन्दले यो अभियानले बालबालिकाको स्वास्थ्यमा उल्लेखनीय सुधार ल्याएको भन्दै खुसी व्यक्त गरिन् ।
त्यस्तै, पत्रकार महासंघ दैलेखका अध्यक्ष अम्मर सुनारले मिडियाले सधैं स्वास्थ्य अभियानमा साथ दिँदै आएको र आगामी दिनहरूमा पनि सक्रिय सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५