दैलेख: दैलेखमा गणतन्त्र दिवस मनाइएको छ । बिहीबार दैलेखमा धूमधामका साथ १८ औँ गणतन्त्र दिवस मनाइएको हो ।
गणतन्त्र दिवस २०८२ मूल समारोह समितिको आयोजनामा भएको कार्यक्रमको अध्यक्ष जिल्ला समन्वय समिति दैलेखका उपप्रमुख केशव बहादुर शाहीको अध्यक्षतामा भएको थियो । दैलेख जिल्लाका सरकारी, गेैह सरकारी तथा संस्थाको उपस्थितिमा बिहीबार बिहान गणेश चौक देखि प्रभातफेरी कार्यक्रम गरिएको थियो । प्रभातफेरी कार्यक्रमले दैलेख बजार परिक्रम गरी जिल्ला समन्वय समितिको सभा हलमा कार्यक्रम गरिएको कर्मचारी मिलन केन्द्र दैलेखका अध्यक्ष गणेशप्रसाद कोइरालाले जानकारी दिए ।
उनका अनुसार जिल्लामा गणतन्त्रका दिवसका अवसरमा विभिन्न किसिमका कार्यक्रम गरिएको थियो जिल्लामा अन्तर कार्यालय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिएको थियो । उक्त प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय तथा सान्तोन हुने प्रतियोगीलाई नगद सहितको पुरस्कार प्रदान गरिएको छ ।
नारायण नगरपालिकाका कार्य बाहक अध्यक्ष तथा गणतन्त्र दिवस कार्यक्रमका प्रमुख अतिथि तप्ता कुमारी थापाले गणतन्त्रको रक्षा गर्नु हामी सबैको दायित्व भएको बताइन् । उनले नेपाली जनताको एक एक थोपा रगतको बलिदान गरेर गणतन्त्र व्यवस्था ल्याएको बताएकी छन् । गणतन्त्र दिवस ज्येष्ठ १५ मा मात्रै नभएर ३६५ दिनमा नै लागू गर्नुपर्ने उनको धारण छ । लैङ्गिक हिंसा, छाउपडी प्रथा, लगायत हिंसाहरू सम्पूर्ण नागरिकलाई परिवर्तनतर्फ ल्याउन पहल गर्नु यही गणतन्त्रको उपज भएको उनको भनाइ छ । नेपालमा शान्ति, सुव्यवस्था, कायम गर्नु पर्ने आवश्यक रहेको थापाको भनाइ छ ।

कार्यक्रमको विशेष अतिथिका रूपमा बोल्दै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रले हामी गणतान्त्रिक व्यवस्थामा रहेको बताए । उनले यो व्यवस्था अति उत्तम व्यवस्था रहेको, गणतन्त्र व्यवस्था ल्याएदेखि सबै नागरिक, हरेक वर्गहरूको साझा अधिकार रहेको र मुलुक बनाउने निजिगत,गैर सरकारी क्षेत्रको अझ धेरै अधिकार रहेको कुरा प्रस्ट पारे ।
भूमि समस्या समाधान आयोग दैलखका अध्यक्ष बरुनाथ योगीले गणतन्त्र माथि विभिन्न खालको आक्रमण भइरहेको अवस्थामा गणतन्त्र नेपाली जनताले आफ्नो रगतसँग साटेको धारण राखे ।
नेकपा एमाले दैलेखका सचिव हिमालयजंग शाहले स्थानीय, प्रदेश र सङ्घीय सरकारको संयुक्त हक, अधिकार प्राप्ति गणतन्त्रले गर्दा आएको बताए । उनले आजको आवश्यकता परिवर्तनशील व्यवस्थामा बदल्न बताए ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व जिल्ला विकास सभापति टेक बहादुर खाणले यो देशमा नेपाली जनताको बलिदानले दिएको जनताको व्यवस्था गणतन्त्र भएको बताउँदै हरेक नागरिकले आआफ्नो क्षेत्रबाट इमानदारीका साथ लाग्नुपर्ने बताए ।
नेपाल सामाजबादि दैलेखका अध्यक्ष मायाराम अधिकारीले गणतन्त्र स्थापनाको निम्ति हामी सबैको बलिदानले ल्याएको व्यवस्था रहेको औँल्याए । यो विश्व पुँजीवाद धारामा चलिरहेको छ, त्यसलाई समाजवाद उन्मुखमा बदल्न आवश्यक देखिन्छ । राणा शासनको व्यवस्था भन्दा गणतन्त्र व्यवस्था सृजना, रचना र परिकल्पना अति उत्तम भएको उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका सदस्य रत्ने श्रेष्ठले देशमा गणतन्त्र राम्रो व्यवस्था हो तर जनता सामु यो व्यवस्था पुगेको छैन । गणतन्त्र समाजबादि गणतन्त्र हुने अवस्थामा हुनुपर्नेमा भ्रष्ट्राचार मुखी भएको अवस्था छ । हामी सरकारको नेतृत्वमा हुनेहरू अहिलेको अवस्थामा सच्चिएनौ भने देशको अवस्था झनै खतरा हुने भनाइ राखे ।
यस्तै निजी क्षेत्रको प्रतिनिधिका रूपमा दैलेख उद्योग वाणिज्य सङ्घ दैलेखका अध्यक्ष नरेन्द्र थापाले गणतन्त्र अघि व्यापार व्यवसाय गर्दा राज्यका निकायसँग डराउनुपर्ने अवस्था भएको र गणतन्त्रपछि उद्योगी व्यापारीको हितमा फराकिलो हिसाबले सकारात्मक कामहरू भएको बताए । दैलेख उद्योग वाणिज्य सङ्घ दैलेखले रेडक्रस माध्यमिक विद्यालय भुर्तिका ६ जना विद्यार्थिहरुलाई शैक्षिक सामग्री र पोसाक वितरण गरेका थियो ।
अतिथिका रूपमा बोल्दै नेपाल पत्रकार महासङ्घ दैलेखका अध्यक्ष अमर सुनारले गणतन्त्रले धेरै सुविधा ल्याएको बताए ।
कार्यक्रमको समापनमा बोल्दै कार्यक्रमका अध्यक्ष तथा जिल्ला समन्वय समिति दैलेखका का.वा. प्रमुखले उपस्थित सबैलाई धन्यवाद व्यक्त गरे । कार्यक्रममा फूलबारी विद्या मन्दिर दैलेख विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेको थिए ।




खुल्ला प्रेस । १६ जेष्ठ २०८२, बिहीबार १९:०६