भगवतिमाई गाउँपालिकाका अध्यक्षलाई खुल्ला पत्र

श्री अध्यक्षज्यू,
भगवतीमाई गाउँपालिका, दैलेख।

विषयः वडा नं‍. ३ सान्तडा उकालोमा रहेको जिर्ण खानेपानी धारा मर्मत तथा स्थायी समाधानको अनुरोध।

श्रीमान्,
सविनय अनुरोध गर्न चाहन्छु, म नरेन्द्रराज रेग्मी, भगवतीमाई गाउँपालिका–०३, मेहेल्तोलीको स्थायी बासिन्दा हुँ। यो पत्रमार्फत सान्तडा उकालोमा रहेका पैदल यात्रुहरूको साझा समस्या प्रति तपाईंको ध्यानाकर्षण गराउन चाहन्छु।
सान्तडा उकालो हाम्रो वडाको एक प्रमुख पैदल मार्ग हो। यस मार्गबाट हरेक दिन विद्यार्थीहरू विद्यालय जान्छन्, किसानहरू खेततर्फ जान्छ्न, महिला, बृद्धवृद्धा दैनिक कार्यका लागि आवतजावत गर्छन्। यो उकालोमा चर्को घाम र थकानको यात्रामा पानीको थोपा खोज्ने ठाउँ हो। यो मार्गमा ६–७ वर्षअघि बनाइएको एउटा खानेपानीको धारा रहेको छ , जसले केही दिन केहि राहत दिएको थियो । तर आज त्यो धारा अत्यन्त जीर्ण, बेकार र प्रयोगविहीन अवस्थामा छ। मर्मतको अभाव, जिम्मेवारीको कमी र पानीको उचित व्यवस्थापन नभएकै कारण अहिले त्यो धारा देखाउन मात्रैको वस्तु बनेको छ।
यसैबीच, वडाको भवन भने दिनानुदिन ठूलो बनिँदैछ। सिङ्गो गाउँलेले हेर्ने ठाउँमा वडा कार्यालयको विशाल संरचना अब विकासको प्रतीकजस्तो देखिने गरेको छ। तर,भौतिक संरचना ठूलो भए पनि जनताको जीवन किन उस्तै पीडामा छरु प्यासले हैरान भएका वृद्धहरू, बाटोमा दैनिक स्कुल जाने बालबालिका, र थकाइले गल्ने यात्रुहरूको आँखामा ‘विकास’को भवन होइन, एक घुट्की पानीको खोजी हुन्छ।
अध्यक्ष ज्यु , विकास भनेको केवल भवन ठड्याउनु होइन। विकास भनेको जनताको दुःखमा मल्हम लगाउनु हो र, जनमुखी विकासलाई पहिलो प्राथमिकतामा राखियोस् – भौतिक महल होइन, जनताको सहजता हेरी योजनाहरू कार्यान्वयन गरियोस्।
हामी तपाईंको जवाफदेही र संवेदनशील नेतृत्वको अपेक्षा गरेका छौं। जनताको घाँटी सुक्दा हेरेर बस्ने नेतृत्व होइन, पानीको व्यवस्था गरेर आशा दिने नेतृत्व हामीलाई चाहिएको हो।
सधैं विकासुको चर्चा गर्ने गाउँपालिकामा यस्तो आधारभूत सेवाको अभावले जनतालाई गम्भीर रूपमा पिरोलिरहेको छ। तपाईंको नेतृत्वमा भवन निर्माण, योजना तयार पार्ने प्रक्रिया र कागजी विकासको गतिमा तिव्रता देखिए पनि जनताको दैनिक जीवनमा प्रत्यक्ष राहत दिने यस्ता साना तर महत्त्वपूर्ण समस्या बेवास्तामा परेका छन्। वडा कार्यालय ठूलो बनेर मात्र विकास हुन्नस जनताको हाँसो, सजिलो र सम्मानित जीवन नै साँचो विकास हो। सान्तडा उकालोमा प्यासले लत्रिएका बृद्ध आमाहरू, थकाइले रोएका विद्यार्थीहरू, र बिनापानीमा उकालो आवतजावत गर्ने किसानहरूका आँखामा भवन होइन, एक घुड्की पानी खोजिरहेका छन्।
अबको नीति तथा कार्यक्रम – २०८२/८३ मा यो विषयलाई प्राथमिकता दिइयोस् भनी हार्दिक अनुरोध गर्दछु। सान्तडा उकालोको यो धारा मर्मत गरियोस्, आवश्यक परेमा पुनःनिर्माण गरी स्थायी समाधान ल्याइयोस्। यात्रुहरूलाई थकानमा विश्राम, प्यासमा राहत, र स्थानीयलाई जीवनको सहजता मिलोस् भन्ने चाहनाका साथ यो खुला पत्र लेखिएको हो।
नरेन्द्रराज रेग्मी,
भगवतीमाई गाउँपालिका वडा न ०३ मेहेल्तोली ,दैलेख
मितिस् २०८२ साल, जेठ १३गते

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५