जाजरकोट : जाजरकोटका दुई वटा स्थानीय तहमा हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । पालिका कमिटीको सिफारिसमा बिहीबार प्रदेश कमिटीले उम्मेदवारको टुङ्गो लगाएको हो ।कांग्रेस प्रदेश कमिटी सभापति ललितजङ्ग शाहीले उपनिर्वाचन हुन लागेको जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखको उम्मेदवारका लागि इन्द्रा चन्द सिंहको नाम टुङ्गिएको रातोपाटीलाई बताए । यस्तै कुशे गाउँपालिका–७, को वडाध्यक्ष पदमा हुन लागेको उपनिर्वाचनको उम्मेदवार खम्बबहादुर सिंह बनेका छन् । कांग्रेस जाजरकोटका सभापति बेदराज सिंहले उनको पनि नाम एकल आएकाले टुङ्गिएको बताए ।
यस्तै जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको ०८० कार्तिक १७ गते भूकम्पमा परी मृत्यु भएपछि उपप्रमुख पद रिक्त थियो । सिंह ०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएकी थिइन् । गत निर्वाचनमा सिंह ५ हजार ४०६ मत पाएर विजयी भएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी सुनिता बोहोराले ३ हजार ३९३ मत पाएकी थिइन् ।
अहिले कांग्रेसले उम्मेदवार बनाएकी इन्द्राचन्द सिंह सरिताकै भाइ बुहारी हुन् । पार्टीमा खासै सक्रिय नभए पनि कांग्रेसले उनलाई उम्मेदवार बनाएको हो । उनी अहिले क्रियाशील सदस्य मात्रै छिन् भने पूर्व शिक्षक हुन् ।
यस्तै कुशे–७, का वडाध्यक्ष मनबहादुर घर्तीको ०७९ असारमा मृत्यु भएको थियो । उनी ०७९ वैशाखमा भएको निर्वाचनमा माओवादीका तर्फबाट ३८० मत प्राप्त गरी विजय भएका थिए । उक्त ठाउँमा अहिले कांग्रेसले उठाएका खम्बबहादुर सिंहले ३१८ मत पाएका थिए ।
यद्यपि कांग्रेसले पराजित भएका व्यक्तिलाई नै पुनः उम्मेदवार बनाएको छ । सिंह पार्टीको उक्त वडा कमिटी सभापति हुन् ।




खुल्ला प्रेस । २४ कार्तिक २०८१, शनिबार ०९:४५