माधव नेपालबाहेकका साथीहरु एमालेमा फर्किए हुन्छ : ओली

काठमाडौँ : एमाले अध्यक्ष केपी ओलीले पार्टीबाट केही अनुशासनहिन र अराजक तत्वहरुमात्रै बाहिरिएको बताएका छन् । उनले आगामी चुनावमा पनि एमाले नै पहिलो पार्टी बन्ने दाबी गरे ।

‘हाम्रो पार्टीबाट केही अनुशासनहिन, अराजक तत्वहरु बाहिरिएका छन् । बिग्रिएको आलुलाई बोराभित्र राख्नुहुँदैन । सबैलाई कुहाउँछ । त्यसकारण कुचोले बढार्नु पर्ने कसिंगर हावाले उडायो भनेजस्तै हो । माधव नेपालबाहेक अरु साथीहरु पार्टीमा फर्किए हुन्छ,’ आइतबार झापामा भएको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘बिग्रिएका तत्वहरु थुपारेर काम छैन । त्यसकारण मैले भनेको हो, माधव नेपालजस्ता अपराधी तत्वलाई फेरि एमालेले ठाउँ दिँदैन । अरु साथीहरु फर्किए हुन्छ ।’

उनले एमालेले मात्रै देश बनाउन सक्ने दाबी गरे । ‘हामी फेरि चुनाव जित्छौँ । हामी देश बनाउन सक्छौँ,’ उनले भने, ‘अहिले संसद्मा‌ जे फुर्ती–फार्ती छ, त्यो हामीले गर्दा भएको हो । आगामी चुनावमा माधव नेपालले जितेर देखाउन्, प्रचण्डले चुनाव जितेर देखाउन् ।’

अध्यक्ष ओलीले मन्त्रिपरिषद् विस्तारमै ३ महिना लगाउने दलहरुबाट अब नेपाली जनताले कुनै अपेक्षा नराख्न आग्रह गरे । ‘अहिले प्रचण्डले जे फुर्ती लगाइरहेका छन्, त्यो हामीले जोगाइ दिएको हो । अब त समानुपातिकमा बस्छन्, आउँला र खाउँला भनेर, तर त्यो हुनेवाला छैन,’ उनले भने, ‘जनस्तरमा जाँदा यिनीहरुलाई मोर्चा बनाउन् कि मर्चा हालुन् कि जेसुकै गरुन् । कसले भोट दिन्छ ? यी विनाशकारी, विध्वंशकारी, भड्काउने तत्व हुन् । यी अस्थिरता ल्याउने तत्व हुन् । स्थिरता बनाउने तत्व होइनन् ।’

उनले जनताले अब सत्तारुढ दलहरुलाई भोट माग्न जाँदा परमादेश माग्न अदालत जाऊ भनेर पठाइदिने बताए । ‘अब यिनलाई जनताले भोट दिँदैनन् । अब त भन्छन्, जाऊ न अदालत, परमादेश लिएर आऊ भनेर । किनकि यो जनताले बनाइदिएको सरकार नै होइन ।’ कान्तिपुर

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५