लैङ्गिक हिंसामध्ये ८० प्रतिशत घरेलु

काठमाडौँः लैङ्गिक हिंसाका घटनामध्ये ८० प्रतिशत घरेलु हिंसाका घटना हुने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार घरेलु हिंसाभित्र पनि शारीरिक हिंसा ५३ प्रतिशत छ भने मानसिक हिंसाका घटना ४७ प्रतिशत रहेको छ ।

शनिबारबाट सुरु भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रहरीमा दर्ता भएका मुद्दालाई विष्लेषण गर्दा ८९ प्रतिशत चिनजानका मानिसबाटै महिला तथा बालिालिका हिंसामा पर्ने गरेका छन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक डा मनोजकुमार केसीले चिनाजानबाटै हिंसामा पर्नु दुःखद् कुरा भएकाले यसलाई रोक्न समुदायको सक्रिय सहभागिताको खाँचो रहेको औँल्याए ।

विवरणानुसार घरेलु हिंसाभित्र श्रीमान्–श्रीमतीबीच हुने घरेलु हिंसाका घटनामात्रै ६७ प्रतिशत छ । पछिल्लो एक वर्षमा प्रहरीमा १६ हजार पाँच सय १९ घरेलु हिंसा र अन्य लैङ्गिक हिंसा चार हजार तीन सय ९४ वटा दर्ता भएका छन् । उमेर समूहका हिसाबले पीडित भएकामध्ये ६३ प्रतिशत बालिका (११ देखि १६ वर्ष) का छन् । पीडक भने १० वर्षदेखि २५ वर्षका मात्रै झण्डै ३८ प्रतिशत छन् । डर, धाक, धक्की देखाएर ५० प्रतिशत हिंसा भएको र चकलेट खुवाएर ३५ प्रतिशत तथा विवाह गर्ने लोभ देखाएर १४ प्रतिशत हिंसाका घटना भएका छन् ।

निर्देशनालयका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले ८९ प्रतिशत चिनजानका मानिसबारै हिंसा भएको तथ्यले देखाएको बताए । त्यसमा पनि १२ प्रतिशत आफ्नै परिवारका, झण्डै २३ प्रतिशत छिमेकी, शून्य दशमलव ४६ प्रतिशत शिक्षकले हिंसा गरेको घटना दर्ता भएको छ । केटा साथीबाट पाँच प्रतिशत हिंसाका घटना भएका छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५