छोरी बुहारीलाई पढाउन छात्रवृत्ति

सुर्खेत: कर्णाली प्रदेशमा छोरी बुहारीलाई कोटाभन्दा बढी छात्रवृत्ति दिएको छ । आर्थिक अभावले पढाइ बिचमै छोड्ने छोरी बुहारीका लागि ‘छोरी बुहारी छात्रवृत्ति’ कोटा बढाउन सुरु गरेको हो ।

सो कार्यक्रमका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ देखि आव २०७७/७८ सम्म ३४० जनाको कोटा छुट्याएकोमा ४०१ जना सो छात्रवृत्ति पाउन सफल भएका छन् । ३४० कोटाका लागि प्रदेश सरकारले तीन करोड ९० लाख बजेटबाट ४०१ जनालाई तीन करोड ७७ हजार रुपियाँ छात्रवृत्ति वितरण गरेको छ ।

कर्णाली प्रदेश सभा सामाजिक विकास समितिको आयोजनामा संसद् सहयोग परियोजनाको सहकार्य र कर्णाली फाउन्डेसनको समन्वयमा सुर्खेतमा आयोजित कार्यव्रmममा यस्तो जानकारी दिएको हो । सो अवसरमा ‘छोरी बुहारी छात्रवृत्ति’ कार्यक्रममाथि सरोकारवालासँगको छलफल (संसदीय निगरानी) कार्यक्रममा निर्धारित कोटाभन्दा बढीले छात्रवृत्ति रकम प्राप्त गरी आफ्नो अध्ययनलाई निरन्तरता दिएको जानकारी दिइएको हो ।

सुर्खेत बहुमुखी क्याम्पसका उपप्राध्यापक युवतकुमार ओलीले छात्रवृत्ति वितरण बारे प्रस्ट्याउँदै आव २०७५/७६ मा एक सय जनाको कोटामा १५० जनालाई एक करोड ३२ लाख ८९ हजार रुपियाँ, २०७६/७७ मा एक सय जनाको कोटामा ११० जनालाई ७६ लाख १६ हजार आठ सय रुपियाँ र २०७७/७८ मा १४० जनाको कोटामा १४१ जनालाई एक करोड ३० लाख ७१ हजार रुपियाँ सरकारले छात्रवृत्तिका लागि वितरण गरिएको जानकारी दिए ।

कार्यक्रममा उनले प्रस्तुत गरेकाे प्रतिवेदनमा आव २०७५/७६ मा रुकुमपश्चिमबाट दुई जना, सल्यानबाट १४ जना, जाजरकोटबाट आठ जना, सुर्खेतबाट २९ जना, दैलेखबाट २५ जना, डोल्पाबाट २१ जना, कालीकोटबाट आठ जना, जुम्लाबाट १८ जना, मुगुबाट एक र हुम्लाबाट २४ जनाले छोरी बुहारी छात्तवृत्ति रकम प्राप्त गरेको उल्लेख छ । यस्तै २०७६/७७ मा रुकुम पश्चिमबाट १० जना, सल्यानबाट १० जना, जाजरकोटबाट १० जना, सुर्खेतबाट १० जना, दैलेखबाट ११ जना, डोल्पाबाट १२ जना, कालीकोटबाट १४ जना, जुम्लाबाट १२ जना, मुगुबाट ११ र हुम्लाबाट १० जनाले छात्रवृत्ति पाएका छन् ।

२०७७/७८ मा रुकुमपश्चिमबाट १० जना, सल्यानबाट ११ जना, जाजरकोटबाट १० जना, सुर्खेतबाट ४० जना, दैलेखबाट १० जना, डोल्पाबाट ११ जना, कालीकोटबाट ११ जना, जुम्लाबाट १० जना, मुगुबाट १८ र हुम्लाबाट १० जनाले पाएका छन् । हालसम्म कर्णालीका १० जिल्लाबाट ४०१ जना छोरी बुहारीले छात्रवृत्ति प्राप्त गरेको अध्ययनकर्ता एवं उपप्राध्यापक ओलीले जानकारी दिए। छात्रवृत्ति प्राप्त गरी अध्ययन पूरा गरेका छात्राहरूले रकमको उचित सदुपयोग तथा उपलब्धि र रोजगारीको अवस्था अनुगमन नभएको देखिएको बताए ।

सो छात्रवृत्तिबाट रकम लिएर अध्ययन पूरा गरी अहिले सुर्खेतको सिम्ता गाउँपालिकामा कार्यरत कालीकोटकी जया बोगटीले छोरी बुहारी छात्रवृत्ति कार्यक्रम  अध्ययन बिचमै छोडेका छोरी बुहारीका लागि प्रेरणादायी भएको बताइन् ।कर्णाली सरकारले दिएको छोरी बुहारी छात्रवृत्ति कार्यक्रमले आफ्नो जीवनको स्वरूप परिवर्तन गरेको बताउँदै उनले यस्तो सहयोगले कर्णालीका छोरी बुहारीहरूको अध्ययनलाई अगाडि बढाउन मद्दत गर्ने जनाइन् । जन नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोइरालाले सरकारले दिने हरेक छात्रवृत्ति तथा सहुलियतहरू सामुदायिक विद्यालयका लागि मात्रै केन्द्रित गरेर दिन आवश्यक भएको बताए ।

उनले धनी र गरिब बिचको दुरी कम गर्न यस्ता छात्रवृत्तिले सहयोग गर्ने बताउँदै सूचकको स्तर वृद्धि गर्न आवश्यक भएको सुझाव दिए । कार्यक्रममा छात्रवृत्तिबारे दुर्गम र पिछडिएका क्षेत्रको सहभागिता बढाउनका लागि छात्रवृत्तिमा आदिवासी, दलित र जनजातिहरूको समानुपातिक प्रतिनिधित्व गर्न कुल छात्रवृत्ति सङ्ख्याको ४० प्रतिशत आरक्षण र ६० प्रतिशत मेरिटका आधारमा छात्रवृत्ति वितरण गर्नुपर्ने नीतिगत सुझावहरू पनि दिइएको छ ।

प्रदेश सभाको सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले अध्ययनले देखाएको निष्कर्ष र सुझावका आधारमा सरकारलाई निर्देशन दिइने बताए। उनले कार्यक्रम बढी प्रभावकारी बनाउनका लागि कार्यविधिमा लक्षित वर्गलाई समेट्न सुझाव दिए । गाेरखापत्रमा समाचार छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५