दैलेख बजार अस्तव्यस्त, रमिते नगर सरकार 

दैलेखः दैलेखको सदरमुकाम नारायण नगरपालिकाको मुख्य बजार क्षेत्रको सडक अस्तव्यस्त छ । पुरानो बजारदेखि गणेश चौकसम्मको मुख्य सडक क्षेत्रको स्तरोन्नतिमा ठेकेदार कम्पनीको लापरवाही देखिएको छ । त्यसप्रति नगरपालिकाले आँखा चिम्लिँदा जनजीवन झन् अस्तव्यस्त बनेको छ ।
एक महिनाअघि कामको मूल्याङ्कनका आधारमा भुक्तानी दिने गरी एक करोड १२ लाख लागतमा स्तरोन्नतिको जिम्मा पाएको व्यवसायी सुरेन्द्र शाहीको एस.आर.पी. ग्रुप कन्स्ट्रक्सनले मुख्य बजार क्षेत्र पुरानो बजार, देवकोटा चौकहुँदै गणेश चौक जाने सडक भत्काएर अलपत्र पारेको छ । अधिकांश सरकारी कार्यालय यसै सडकसँग जोडिएकाले मानिसको बढी भीडभाड हुने गर्छ ।
सडक निर्माण अलपत्र पर्दा मुख्य बजार क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ भने आवातजावतमा समस्या देखा परेको छ । यति मात्रै होइन, नाला भत्काइँदा दुर्गन्ध, धुलोधुवाँले विभिन्न सरुवा रोगको जोखिमसमेत बढेको छ ।
भौगोलिक अवस्थाका कारण साघुरो रहेको उक्त सडकको दुवैतर्फ नाला निर्माणका लागि खनिएको खाल्डो छन्, त्यसले सवारी दुर्घटनाको जोखिमसमेत बढेको स्थानीयको गुनासो छ । सडक भत्काउन तदारुकता देखाएको कम्पनीले निर्माणमा भने चासो दिएको छैन ।
सडक निर्माणमा नगरपालिकाले पनि चासो दिएको छैन । वैकल्पिक मार्गसमेत नभएकाले तीव्र गतिमा काम अगाडि बढाउन नगरपालिकाले सक्रियाता देखाउनुपर्नेमा नगरपालिका चुकेको स्थानीयको आरोप छ ।
चालू आर्थिक वर्षको असार मसान्तसम्म सक्नुपर्ने कार्यादेश रहेको भन्दै सडक निर्माणमा कम्पनीले ढिलासुस्ती गर्न खोजेको नगर प्रमुख लोमन शर्मा बताउँछन् । ‘सडक भत्काएको एक महिना बढी भइसकेको छ, जसले जनजीवन अस्तव्यत बनेको छ । हामीले यथासीघ्र काम अगाडि बढाउन ताकेता गरिरहेका छौँ । असार मसान्तभन्दा पनि यहाँको अवस्था हेरेर काम अगाडि बढाउनुस् नत्र सम्झौता तोड्छौं भनेपछि उहाँहरूले पुनः काम अगाडि बढाउनु भएको छ । सडक निर्माणमा हामी गम्भीर छौँ’, नगर प्रमुख शर्माले भने ।
दुई खण्डमा स्तरोन्नतिको काम भइरहेको उक्त सडकमा पूर्वाधार कार्यालयको बजेटसमेत छ । हाल सडकको अवस्था हेरेर बिस्तार गर्न मिल्ने ठाउँमा सडक बिस्तार गरेर ४ सय मिटरमा पीसीसी गरिने बताइएको छ । मुख्य बजार क्षेत्रको सडक ४ देखि ८ मिटरसम्म चौडा छ । सडक साँघुरो भएकै कारण निर्माण कार्यलाई तीव्रता दिनुपर्ने स्थानीयको माग छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५