माधव नेपाललाई एमालेमा फर्कन र सरकारमा सहभागी हुन आग्रह

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई सरकारमा आउन एमालेले औपचारिक निमन्त्रणा गरेको छ । मंगलबार साँझ उपप्रधानमन्त्री समेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलले अध्यक्ष नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।

एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेको घरमा अध्यक्ष नेपाल र उपाध्यक्ष पौडेलबीच भेटवार्ताका क्रममा नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन् । पाण्डेले भेटवार्ताबारे केही बोल्न चाहेनन् । विश्वस्त स्रोतका त्यस क्रममा नेता पौडेलले एमालेमा फर्कन समेत प्रस्ताव गरेका छन् । तर नेपालले स्पष्ट जवाफ नदिएपनि सोच्न सकिने भन्दै केही सर्त राखेको बुझिएको छ ।

‘तपाई सरकारमा पनि आउनुस्, पछि पार्टी समेत एकता गरौं, अव मिलेर अघि बढौं, पुराना कुरा बिर्सौँ’, नेपाललाई पौडेलको आग्रह छ । जवाफमा अध्यक्ष नेपालले पौडेलका दुवै प्रस्तावमा सोच्न सकिने तर स्पष्ट गन्तव्यविना अघि बढ्न नहुने बताएका छन् ।

नेपालसँगको भेटवार्तापछि पौडेल अध्यक्ष केपी शर्मा ओली भेट्न मंगलबार साँझ नै बालकोट पुगेका छन् । वालकोटले पौडेलसहित ओली र गृहमन्त्री रवि लामिछानेबीचको भेटवार्ताको तस्बिर सार्वजनिक गरेको छ ।​

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५