दैलेखमा पाइप पड्किदा दम्पति घाइते

दैलेख : फलामको पाइपमा सलाईको काँटीको बारुद भर्दैगर्दा पड्किएर श्रीमान, श्रीमती घाइते भएका छन्। दैलेखको नारायण नगरपालिका–६ भूर्तीमा २८ वर्षीय अर्जुन सार्की र श्रीमती २२ वर्षीय अञ्जू सार्की सख्त घाइते भएका हुन्।

लोहो खोलामा माछा मार्ने उद्देश्यले विष्फोटक पदार्थ बनाउने लाग्दा घरमै बारुद भर्दैगर्दा अकस्मात् पड्किएर शनिबार उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिए।

पाइप पड्किँदा अर्जुनको बायाँ हातको हत्केला पूरै उडेको छ भने अञ्जुको दाहिने खुट्टामा तथा शरिरका अन्य भागमा चोट लागेको छ। दैलेख अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा पुर्‍याइएको अर्जुनका बुबा हरि सार्कीले जानकारी दिए। ‘१० वर्ष अघिदेखि काठको फर्निचर सञ्चालन गर्दै आएका अर्जुनले ६ वर्ष अघि अन्तरजातीय विवाह गरेका थिए, पछि युवतीले छोडेपछि मानसिक स्वास्थ्यमा समस्या थियो,’ स्थानीय प्रेम भूर्तेलले भने।

अन्तरजातीय विवाह अघिकी पहिलो श्रीमतीले बहुविवाह उजुरी गरेपछि २ वर्षको कैद सजाय भोगेर छुटेपछि अन्तजातीय विवाह गर्ने मगर थरकी ती युवतीलेसँगै बस्न नसक्ने भनेर माइतीमा पुगेपछि अर्जुनले माइतीघरमा एक साता अनसन बसेका थिए। त्यसबेला परिवारजनले सम्झाईबुझाई घरमा ल्याएपछि फर्निचरमा आफैँले मुख्य मिस्त्रीको काम गर्दै आएका छन्। पहिलो श्रीमतीले २ छोराछोरी छोडेर अन्यत्रै विवाह गरेपछि दुई वर्ष अघि अञ्जूलाई तेश्रो श्रीमतीको रुपमा विवाह गरेका हुन्।

अञ्जू गर्भवती छिन्। ‘कात्तिक ५ गतेलाई प्रसुतीको दिन तोकिएको भएपनि अझैं शिशू जन्मेको छैन, अञ्जूको पेटमा पनि चोट लागेकोले गर्भको बच्चालाई केही असर पो पर्‍यो कि ? चिन्ता लागेको छ’अर्जुनले टेलिफोनमा भने।  पाइप पड्किँदाको धुवाँले आफ्नो दुई वटै आँखा धमिलो देखिएको अर्जुनले सुनाए। ‘डाक्टरले हात काट्ने भनेका छन्, औषधी गर्ने पैंसा पनि छैन’ उनले भने।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५