कर्णालीका अधिकांश जिल्ला सञ्चार सम्पर्कविहीन

सुर्खेत : कर्णाली प्रदेशका अधिकांश पहाडी जिल्लाका सदरमुकामलगायत ग्रामीण बस्तीहरू सञ्चार सम्पर्कविहीन भएका छन् । अत्यधिक वर्षात्‌ले पोलहरू ढलेर अप्टिकल फाइबरमा अवरोध र रिपिटर टावरमा सोलार चार्ज नभएपछि सञ्चारसम्पर्क विच्छेद भएको हो ।

जाजरकोट र रुकुमलाई लिंक दिने रोल्पा रातामाटाको रिपिटर टावर, पश्चिम जाजरकोटका लागि सल्लाभिर रिपिटरलगायतमा गत बुधबारदेखि घाम नलागेर सोलार चार्ज सकिएर बन्द हुन पुगेको नेपाल टेलकमको सुर्खेतस्थित प्रदेश कार्यालयले जनाएको छ ।

सल्लाभीरमा रहेको जेनेटरमा ईन्धन सकिएकाले पुर्‍याउन कठिनाइ भएको कार्यालयले जनाएको छ । जाजरकोट खलंगामा अप्टिकल फाइबर रहेको पोल ढलेपछि नेपालगन्जबाट मगाएको सामानसमेत ल्याउन सकिएकाले विगत २ दिनदेखि टेलिफोनसेवा अवरुद्ध भएको हो । छिन्चु नजिकै विद्युत् केन्द्रीय प्रसारण लाइनको पोल ढलेकाले पश्चिम रुकुमको चौरजहारी, सल्लस बजार, राकम र जाजरकोट सदरमुकाममा गत ३ दिनदेखि बिजुली अवरुद्ध भएको छ ।

कर्णालीका पश्चिम रुकुम र जाजरकोटबाहेकका जिल्लालाई सञ्चार नेटवर्कसँग जोड्ने हर्रे, रातानालाबाहेकका १ सय १५ वटा अन्य रिपिटर र बीटीएसहरू सोलारबाटै सञ्चालित छन् । कालिकोट सिमाना भर्ता, महावु, माईथान लेक हुँदै डोल्पालाई मोबाइल सेवा दिने ऋषिलेक र डाँफेलेकमा पनि सोलार चार्ज हुन नसकेपछि मोबाइल सेवालगायत ईन्टरनेट सेवा पनि अवरुद्ध भएको छ ।

पश्चिम रुकुमको आठबिसकोट नगरपालिको राडीबजारमा फोरजी सेवा चालू गरेलगत्तै रुकुमको घेत्मामा रहेको रिपिटरले काम नगरेपछि जाजरकोटको नलगाड नगरपालिका र वारेकोट गाउँपालिकालगायत ग्रामीण बस्तीमा विगत ५ महिनादेखि मोबाइल नेटवर्क अवरुद्ध छ । ईन्टरनेट सेवा र मोबाइल सेवा अवरुद्ध भएपछि नगरपालिकालगायत सरकारी सेवासमेत प्रभावित भएको नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताए ।

कर्णाली प्रदेशमा नेपाल टेलिकमले चौथो पुस्ताको इन्टरनेट सेवा ‘फोरजी’ विस्तारअन्तर्गत २ सय २५ टावर निर्माण कार्य अघि बढाएको थियो । प्रदेशका १० वटै जिल्लाका विभिन्न ठाउमा टावर निर्माण कार्य अघि बढाइएको हो ।

नेपाल टेलिकमले सुर्खेतमा ६३ वटा, हुम्लामा २, मुगुमा १३ , जुम्ला १८, डोल्पा ३, कालिकोट २१ , दैलेख ३१, जाजरकोट १८ , रुकुम पश्चिम १७, र सल्यानमा ३९ वटा मोबाइल टावर थप्दै छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५