काठमाडौं । कालीकोटको जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदी भएपछि कठिनाइ उत्पन्न भएको छ । त्यहाँ ठाउँ नभएपछि शौचालयलाई समेत कोठाका रुपमा प्रयोग गरिएको विषयमा गोरखापत्र दैनिकले समाचार प्रकाशित गरेको छ ।
दैनिक आठ घण्टाको साटा कैदीहरु ३ घन्टा सुत्न बाध्य छन् । त्यो पनि जेनतेन सुत्ने ठाउँ पाएका छन् । १५ जनाको क्षमता भएको पुरुष बन्दीगृहमा ४९ जना बस्नुपर्दा निकै कठिन भएको छ ।
न्यून क्षमता हुनका साथै जीर्ण कारागारमा धेरै जना कैदीबन्दी बस्नुपर्दा खान, बस्न मात्र होइन सुत्न पनि सास्ती छ । स्थान अभावका कारण शौचालयलाई कोठाका रूपमा प्रयोग गरिएको छ ।
चर्पिका लागि भने अस्थायी संरचना बनाइएको छ । कारागार प्रमुख नरबहादुर सार्कीले महिला र पुरुष गरी ५५ जना कैदीबन्दी हाल कारागारमा रहेको बताए । १० जनाको क्षमता रहेको महिला बन्दीगृहमा चार महिला र दुई जना बालबालिका गरी छ जना बसेका छन् ।
तर १५ जना क्षमता भएको पुरुष बन्दीगृहमा ४९ जना राख्नुुपर्दा निकै कठिन भएको उनले गुनासो गरे ।




खुल्ला प्रेस । १ कार्तिक २०७८, सोमबार १२:१२