कर्णालीमा सरकार र एमालेबीच चार बुँदे सहमति

सुर्खेत : कर्णाली प्रदेश सभामा प्रदेश सरकार र नेकपा एमालेबिच सहमति भएको छ। असार १२ गतेदेखि अवरुद्ध कर्णाली प्रदेश सभाको बैठक शुक्रबारबाट सुचारु भएको छ। शुक्रबार नै कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीको संयोजकत्वमा बसेको सर्वदलीय बैठकले विभिन्न चारबुँदे सहमति गर्दै प्रदेशसभा सुचारु गर्ने सहमति भएको छ।

यो सहमतिसँगै कर्णाली प्रदेश सभामा आर्थिक वर्ष २०७९-०८० को बजेटमाथि क्रमशः छलफल हुने बाटो खुलेको छ। सहमतिमा मुख्यमन्त्री रोजगार कार्यक्रमको सम्बन्धमा प्रस्तावित योजनाहरू एकमुष्टरूपमा फिर्ता लिने र विनियोजन भएको रकम यथावत् राखी साउन मसान्तसम्म कार्यविधिसम्मत योजनाहरू छनौट गरिसक्नु पर्ने निर्णय भएको छ।

यस्तै, विनियोजन किताबमा कर्णाली प्रदेशभन्दा बाहिरका भौगोलिक क्षेत्रलाई समेटेर समावेश भएका सबै योजनाहरूको नाम हटाउने सहमतिमा उल्लेख छ। सशर्त योजनामा सुदूरपश्चिम प्रदेशका नौओटा आयोजनाको एक करोड तीस लाख रुपैयाँको बजेट रातो किताबमा समेटिएको थियो।

१५ लाखभन्दा कम रकम विनियोजन गरिएका योजनाहरूका हकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको साना सिँचाइबाहेक अन्य नयाँ योजनाहरू कार्यान्वयन नगर्ने सहमति भएको छ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष कार्यक्रमको सम्बन्धमा रिक्त रहेका निर्वाचन क्षेत्रहरूमा सभामा प्रतिनिधित्व गर्ने दलहरूको सहमतिमा योजनाहरू छनौट गर्ने गरी कार्यविधि संशोधन गर्ने निर्णय सहमति पत्रमा उल्लेख गरिएको छ। उकेरामा समाचार छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५