दैलेख: दैलेखमा आठौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । मङ्गलवार आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखको आयोजना तथा पतञ्जलि योग समिति दैलेखको सहयोगमा आठौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो ।
आठ वर्ष अघिदेखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस मनाउँदै आइरहेकोमा मङ्गलवार दैलेख बजारको गणेश स्थानमा एक कार्यक्रमका बिच दिवस मनाइएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखका कार्यालय प्रमुख राम प्रसाद महत्तोको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नारायण नगरपालिका नगरप्रमुख लोमन शर्मा थिए ।
कार्यक्रममा बोल्दै नारायण नगरपालिका नगरप्रमुख लोमन शर्माले नेपाल सरकार अहिले योग ध्यानका कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए । उनले भने–नारायण नगरपालिकाले यस्ता कार्यक्रम गर्दा नगरपालिकाले आफ्नो सक्दो सहयोग गर्दै जाने छ । आयुर्वेदहरूले विभिन्न कर्महरू गरिरहेका छन् । आज एलोवेदिक भन्दा आयुर्वेद चिकित्सा प्रभावकारी बन्दै गएको छ । हामीले विहान उठ्दा योग गर्ने सके ८० प्रतिशत रोग आफै हटेर जाने हुँदा यता तर्फ ध्यान दिन जरुरी छ, यो वर्ष योगकर्मीहरूसँगै योग दिवस मनाए पनि आउँदो बर्सबाट नारायण नगरपालिका र आयुर्वेद कार्यालयहरूको समन्वयमा विशेष कार्यक्रम तय गर्ने छु ।
अहिलेको खानपान र आरामदायी जीवनले मानिसको स्वास्थ्यमा समस्या उत्पन्न हुँदै गएको अवस्थामा आयुर्वेद जीवनशैली अपनाउनुपर्नेमा जोड दिँदै अबको पुस्तालाई यसतर्फ आकर्षण गर्न नगरपालिका तथा सरकारले विशेष किसिमका कार्यक्रम ल्याउनुपर्ने डा.प्रज्ञा उपाध्यायले बताएकी छन् ।

मानिस स्वस्थ रहन खानपानमा विशेष ख्याल गर्नुपर्ने भए पनि अहिले हरेक खानामा बिषादिको मात्र बढ्दै गएकोले नारायण नगरपालिकाले नगरभित्रका हरेक नागरिकले आफ्नो घरमा कम्तीमा ५ वटा जडीबुटी लगाउने कार्यक्रम ल्याउन विलासपुर आयुर्वेद औषधालका कविराज राजिव कुमार भारतीले नगरप्रमुखलाई सुझाब दिए ।
कार्यक्रम समापनमा बोल्दै आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखका कार्यालय प्रमुख राम प्रसाद महत्तोले सबै नागरिकले आयुर्वेद जीवनशैली अपनाउनुपर्ने बताए ।




खुल्ला प्रेस । ७ असार २०७९, मंगलवार ०८:०२