कर्णालीका मुख्यमन्त्रीले राजीनामा दिने कुरा हल्ला मात्रै

सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कात्तिक पाँच गते राजीनामा दिने भनेर प्रचार गरिएको कुरा हल्लामात्रै रहेको माओवादी संसदीय दल कर्णालीले जनाएको छ ।

वैशाख तीन गते मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने तर त्यसकालागि माओवादीले ६ महिनापछि मुख्यमन्त्रीमा जीवनबहादुर शाहीलाई सहयोग गर्ने सम्झौता भए पनि केन्द्रको राजनीतिक फेरबदलका कारण कर्णालीमा मुख्यमन्त्री शाहीले तत्काल राजीनामा दिने अवस्था न्यून बन्दै गएको हो ।

पछिल्लो समयमा कांग्रेस महाधिवेशन चलिरहेको समयमा कांग्रेस नेता शाहीले कांग्रेस नेतृत्वलाई मुख्यमन्त्री आफूलाई बनाउन दबाब दिने गरेका छन भने आफू निकटका मिडियालाई प्रयोग गरेर मुख्यमन्त्री शाहीलाई राजीनामा दिन र सहमति कायम गर्न दबाब बढाइरहेका छन् तर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकै नेतृत्व रहने र त्यसमा समाजवादी पार्टीका सांसदलाई पनि मन्त्री बनाउन सकिने भन्दै गठबन्धनका प्रमुख नेता प्रचण्ड र माधव नेपालबीच सहमति भइसकेको स्रोतले बतायो ।

‘कर्णालीमा शेरबहादुर देउवा पनि जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउन सकारात्मक छैनन् । प्रचण्डले चुनावी सरकार आफ्नै खोजिरहेको समयमा माधव कुमार नेपालले पनि मुख्यमन्त्री शाहीकै निरन्तरता चाहिरहेका छन्,’ समाजवादी दलका प्रभावशाली एक नेताले नेपालप्रेससँग भने, ‘मुख्यमन्त्रीमा महेन्द्र शाहीकै निरन्तरता हुन्छ । कर्णालीमा हामी, कांग्रेस र माओवादीको सहकार्य जारी नै रहनेृछ । हामीलाई सो सरकारमा सहभागि हुनकालागि सहज हुने भएका कारण तत्काल उहाँले राजीनामा दिने भन्ने कुरै आउँदैन ।’

ती नेताले आगामी चुनावमा माओवादी र समाजवादीबीच गठबन्धन बनाएर जाने भएका कारण पनि मुख्यमन्त्री शाहीले राजीनामा नदिने योजना बनाएका हुन् ।

यता, माओवादी संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले कात्तिक पाँच गते मुख्यमन्त्री शाहीले राजीनामा दिने भन्ने कुरा हल्ला मात्रै भएको बताए । ‘अहिले तत्कालै राजीनामा नदिइ नहुने कुनै कुरा छैन । त्यस्तो हल्लाको पछि किन मानिस लागिरहेका छन्, अच्चमित बनेको छु ।’ उनी भन्छन्, ‘२–२ मुख्यमन्त्री भागवण्डा हुने र कर्णालीमा यिनै मुख्यमन्त्री दोहोरिन्छन् । बरु मन्त्रीहरु फेरबदल भने हुनसक्छ ।’

उनले कसैले चाँहदैमा मुख्यमन्त्री शाहीले राजीनामा नदिने बताए । ‘कसैका चाहना पनि होल । कसैका अन्य कुनै योजना पनि होलान तर मुख्यमन्त्री शाहीले तत्काल राजीनामा दिने कुरा नै छैन,’ उनी भन्छन्, ‘केन्द्रमा देउवा, प्रचण्ड र नेपालबीच भएको सहमति हामी कार्यान्वयन गर्छौं ।’

मुख्यमन्त्री शाहीले माधवकुमार नेपालबाट मुख्यमन्त्रीमा निरन्तरताकालागि आश्वासन पाइसकेपछि मुख्इमन्त्री शाहीले राजनीतिक भेटघाट बाक्लो बनाएका छन् । उनी अहिले काठमाडौंमा नै भएको बताउँदै उनको सचिवालयले प्रचण्ड देखि समाजवादीका अधिकांश नेतालाई मुख्यमन्त्रीले भेटघाट गरिसकेको बतायो ।

‘मुख्यमन्त्रीज्यू राजनीतिक भेटघाटमा नै हुनुहुन्छ,’ स्वकीय कृष्ण आचार्यले भने, ‘राजनीतिक सहमति का आधारमा कर्णालीमा मुख्यमन्त्री भएका कारण अझै पनि उहाँ नै मुख्यमन्त्री हुने देखिएको छ ।’

यता, मुख्यमन्त्री शाहीले आफूले राजीनामा दिने भनेर आएको समाचारमा सत्यता नभएको प्रतिक्रिया दिए । ‘राजीनामा दिनुपर्ने मैले होला नि ? कि मिडियाले राजीनामा दिने हो ?’ कात्तिक पाँच गते राजीनामा दिदै हुनुहुन्छ रे नि ? भन्ने प्रश्नमा उनले भने, ‘त्यो हल्ला मात्रै हो । शीर्ष नेतृत्वले गरेको निर्णय मान्न हामी तयार नै छौं तर अहिले नै राजीनामा दिने भन्ने कुरा वाहियात हो ।’

कांग्रेस र माओवादीबीच सत्ता सहकार्य गर्ने र मुख्यमन्त्री आलोपालो गर्ने भनेर सहमति भएको लामो समय भइसक्दा पनि मुख्यमन्त्री शाहीले सत्ता हस्तान्तरणकालागि कुनै पनि क्रियाकलाप गरेका छैनन् । आफू स्पष्ट अल्पमतमा भए पनि विश्वासको मत लिन हौसिएका मुख्यमन्त्री शाहीले सहजै कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने सम्भावना न्यून रहेको माओवादी स्रोत बताउँछ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाहीकै निरन्तरता चाहेको छ । ‘कांग्रेस हाम्रो प्रमुख प्रतिस्पर्धी भएका कारण माओवादीले नै सत्ता चलाउँदा हामीलाई बढी कम्पmर्टेबल हुन्छ ।’ एमालेका एक सांसद भन्छन्, ‘आवश्यकता परेको समयमा एमालेले सहयोग गर्न पनि सक्छ तर यो मेरो व्यक्तिगत धारणा मात्रै हो ।’ नेपालप्रेसमा समाचार छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५