काठमाडाैंः भारतीय क्रिकेट टोलीका पूर्व ओपनर शिखर धवन कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन ।
कर्णाली याक्सले ३८ बर्षिय भारतीय खेलाडी धवनलाई भित्र्याएको हो । धवन एनपीएल खेल्ने अहिलेसम्मका हाइप्रोफाइल क्रिकेटर हुन । धवनले गत अगस्टमा भारतको अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका थिए ।
भारतका लागि ३४ टेस्ट, १६७ एकदिवसीय र ६८ टी–२० खेलेका धवनले आइपिएल टिम पञ्जाव किंग्सको कप्तानी पनि गरेका थिए, उनले आइपिएलमा पञ्जाव किंग्ससहित डेकन चार्जर्स, मुम्बई इण्डियन्स दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबाट खेलेका थिए ।
उनले भारतकालागि अन्तिम खेल २०२२ को डिसेम्बरमा खेलेका हुन । सोमपाल कामी मार्की खेलाडी रहेको कर्णालीले यसअघि पाकिस्तानका अल राउण्डर हुसैन टलात, हङकङका बाबर हायात र वेस्ट इन्डिजका चाडविक वाल्टनलाई भित्र्याएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने पहिलो नेपाल प्रिमियर लिग आगामी मङ्सिर १५ देखि पुस ६ सम्म टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुदै छ ।
खुल्ला प्रेस । २९ कार्तिक २०८१, बिहीबार ०८:०७