काठमाडौंः निर्वाचन आयोगले बैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्य निर्वाचनका लागि तयार पारिएका सन्देशमूलक भिडियो सामग्री प्रचार गर्नेलाई नगद पुरस्कार र प्रशंसा दिने भएको छ।
आयोगले एक सूचना जारी गरी निर्वाचन सन्देशमूलक भिडियो सन्देश प्रचार गर्ने प्रतियोगिता राखिएको जानकारी दिएको छ। स्थानीय तह सदस्य निर्वाचनको प्रचार प्रसारका लागि आयोगले तयार गरेका सन्देशमूलक भिडियोहरु आयोगको ट्विटर, युट्युब, फेसबुक, भाइबर लगायतका सामाजिक सञ्जालहरुमा अपलोड भइसकेका छन्।
ती भिडियोहरुलाई टिकट बनाई वा पहिलेकै स्वरुपमा २०७९ बैशाख २९ गतेभित्र फेसबुक, युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालहरुमा पोष्ट गर्ने, सेयर गर्ने र पचास लाख, तीस लाख, र बीस लाख दर्शक पुर्याउने व्यक्ति वा संस्थालाई, नगद पुरस्कार र प्रशंसा पत्र प्रदान गरिने भएको हो।
इच्छा हुने व्यक्ति अथवा संस्थाले प्रतियोगितामा भाग लिन सक्ने आयोगले जनाएको छ।
पचास लाख वा सो भन्दा बढी दर्शक पुर्याउनेलाई पचास हजार नगद पुरस्कारसहित प्रशंसा पत्र प्रदान गरिने आयोगले जनाएको छ। त्यस्तै तीस लाख वा सो भन्दा बढी दर्शक पुर्याउनेलाई तीस हजार नगद सहित प्रशंसा पत्र र बीस लाख वा सो भन्दा बढी दर्शक पुर्याउनेलाई बीस हजार नगदसहित प्रशंसापत्र प्रदान गरिने आयोगले जारी गरेको सूचनामा भनिएको छ।
खुल्ला प्रेस । १८ बैशाख २०७९, आईतवार १५:१८