सुर्खेत: महानगर र उपमहानगर नरहेको कर्णाली प्रदेशमा स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनबीच पालिका बाँडफाँटमा अझै सहमति जुटेको छैन । गठबन्धन दलबीच बढी भाग खोज्ने होड चल्दा निर्णय हुन नसकेको हो ।
गठबन्धन दलको प्रदेशस्तरीय संयन्त्रले सुरुमा प्रदेशका ७९ स्थानीय तहलाई प्रदेशबाटै भागबन्डा गर्ने तयारी गरेको थियो । तर जिल्लापिच्छे फरक–फरक परिस्थिति रहेकाले सम्भव भएन । प्रदेशले जिल्लास्थित संयन्त्रलाई पालिका बाँडफाँट गर्न भन्यो । ‘जिल्लामा पनि दलहरूले आफ्नो हैसियतभन्दा बढी भाग खोज्दा कुरा मिल्न सकेन,’ नेपाली कांग्रेसका प्रदेश प्रवक्ता दमन शाहीले भने, ‘त्यसैले अहिले जिल्लासँग समन्वय गरेर प्रमुख–उपप्रमुखको पदीय बाँडफाँट प्रदेशबाटै टुंग्याउने प्रयास भइरहेको छ ।’
गत चुनावमा कांग्रेस र माओवादी केन्द्रले २५/२५ पालिका प्रमुख जितेका थिए । एमालेले २७ स्थानीय तहमा प्रमुख जितेकामा ७ प्रमुख एकीकृत समाजवादीमा लागेका छन् । अहिले कांग्रेस र माओवादी केन्द्रले कम्तीमा ४०/४० प्रमुख मागेका छन् । एकीकृत समाजवादीले २० स्थानीय तहमा प्रमुख दाबी गरेको छ । गत निर्वाचनमा माओवादी केन्द्रले रुकुम पश्चिममा ‘क्लिन स्वीप’ गरेको थियो भने सुर्खेत, दैलेख र मुगुमा एउटा पनि पालिका जितेको थिएन । अहिले माओवादीले दैलेखमा ४, सुर्खेतमा २ र मुगुमा १ स्थानीय तह मागेको छ । कांग्रेसले गत निर्वाचनमा शून्य नतिजा बेहोरेको रुकुम पश्चिममा २ र एक मात्र पालिका जितेको कालीकोटमा ४ पालिका प्रमुख मागेको छ । माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले एक्लै लड्दा पनि कम्तीमा ४३ पालिकामा जित्ने अवस्था रहेकाले सोही आधारमा तालमेलको भागबन्डा हुनुपर्ने बताइन् ।
गत स्थानीय निर्वाचनमा पालिका प्रमुखले पाएको मतलाई आधार मान्दा एमालेको ३८ प्रतिशत, माओवादीको ३१ र कांग्रेसको २७ प्रतिशत थियो । तुलनात्मक रूपमा कर्णाली एकीकृत समाजवादीको राम्रो प्रभाव भएको क्षेत्र हो । पार्टी विभाजन हुँदा गत असोजमा एकीकृत समाजवादीमा सनाखत गरेका १ हजार ५ सय १ जनप्रतिनिधिमध्ये सबैभन्दा बढी कर्णालीबाट ३ सय ३९ जना छन् । पार्टी उपमहासचिव एवं कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाले सनाखतको समयपछि पनि केही पालिकाका उपप्रमुख र वडाध्यक्षसहितका जनप्रतिनिधि एकीकृत समाजवादीमा प्रवेश गरेका बताए ।
जुम्लामा जिल्ला सभापति कर्णबहादुर शाहीले गठबन्धन गर्ने निर्णय गरेपछि पदाधिकारीहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै त्यसलाई चुनौती दिएका छन् । कालीकोटमा पनि कांग्रेस र माओवादी केन्द्रबीच अझै टकरावको अवस्था छ । पार्टीका प्रदेश महामन्त्री निरञ्जन केसी भने गठबन्धनबारे कांग्रेस नेता–कार्यकर्ताहरूले आफ्नो स्वार्थअनुकूल बोल्ने गरेका बताउँछन् । #कान्तिपुर




खुल्ला प्रेस । ९ बैशाख २०७९, शुक्रबार १०:५५