‘व्यवसायलाई प्रविधिसँग जोडौँ’

दैलेख: सरोकारवालाहरूले व्यवसायलाई प्रविधिसँग जोड्नुपर्ने बताएका छन् । एभरेस्ट क्लब दैलेख अन्तर्गत सञ्चालित पावर परियोजनाले व्यवसाय गरिरहेका युवाहरूको सिकाई आदान प्रदान तथा बजार प्रबद्र्धनका लागि डिजिटल तथा सामाजिक सञ्जालको प्रयोग बारे सोमबार गरिएको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले व्यवसायलाई प्रविधिसँग जोड्नुपर्ने बताएका हुन् ।

प्रविधिको उच्चतम सही प्रयोग गर्दै व्यवसाय गर्दै आएका युवाहरूले सामाजिक सञ्जालबाट आफ्नो व्यवसायको प्रचारप्रसार गर्दै त्यसको लाभ लिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । युग अनुसारको प्रविधिलाई प्रचारमा जोड्नुपर्ने उनीहरूको भनाई थियो । अन्तरक्रियामा उद्यमीहरूलाई उनीहरूले सञ्चालन गरेका व्यवसायको दर्ताका लागि आवश्यक जानकारी गराइएको छ ।

नारायण नगरपालिका आर्थिक तथा सामाजिक विकास शाखा प्रमुख खमबहादुर थापाले व्यवसाय गर्दा जलवायु परिवर्तनमा पर्ने असरका बारेमा व्यवसायीले ख्याल गर्नुपर्ने बताए । उद्योगको विकाससँगै वातावरणमा परेको नकारात्मक प्रभावलाई घटाउन सबै लाग्नुपर्नेमा थापाको जोड रहेको थियो । अन्तरक्रियामा गोठपाँडा कृषक सहकारीका व्यवस्थापक दिनेश कुमार थापाले व्यवसाय र सहकारी बिचको सम्बन्ध तथा वित्तीय शिक्षा बारेमा सहभागीलाई जानकारी गराएका थिए । सहकार्यले सबै कुरा सम्भव रहेको बताउँदै व्यवसायका लागि सीप महत्त्वपूर्ण हुने बताए ।

सहभागीहरूलाई व्यवसाय दर्ताको महत्त्व र प्रक्रियाका बारेमा जानकारी दिँदै उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका गङ्गा रानाले व्यापारका माध्यमबाट मुलुकलाई आर्थिक समृद्धितर्फ लैजान सकिने बताए । उनले सरकारले बनाएका नियम अनुसार व्यवसाय दर्ता गरेर सञ्चालन गर्न आग्रह गरे । अन्तरक्रियामा उद्योग वाणिज्यसँग दैलेखका कार्यालय प्रमुख पवन कार्कीले सञ्चालन भएका व्यवसायको उद्योग वाणिज्य सङ्घ सँगको आबद्धता, आवश्यकता महत्त्व सम्बन्धी जानकारी गराएका थिए ।

व्यवसायीले सरकारलाई तिर्नुपर्ने करका विषयमा जानकारी दिँदै कार्यालय प्रमुख कार्कीले सहभागीलाई दर्ता प्रक्रियामा जाँदा राज्यलाई तिर्नुपर्ने करका विषयमा समेत जानकारी गराए थिए । व्यवसायीलाई बजार प्रबद्र्धनका लागि डिजिटल तथा सामाजिक सञ्जालको प्रयोग बारे जानकारी दिँदै पत्रकार महासङ्घ दैलेखका कोषाध्यक्ष तीर्थ भण्डारीले विभिन्न प्रविधिका माध्यमबाट व्यवसायको प्रचार गर्न सकिने सहभागीहरूलाई जनाएका थिए । अन्तरक्रिया कार्यक्रममा ५० जना युवा उद्यमीहरूको सहभागिता रहेको थियो ।

उनीहरूले व्यवसाय गर्दा विभिन्न समस्याहरू भोग्ने गरेकाले उत्पादन भएका वस्तुलाई बजारीकरण लगायतका समस्यालाई स्थानीय सरकार र सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए । हालसम्म परियोजनाले २ सय २० जना उद्यमी तयार गरेको परियोजना संयोजक भूपेन्द्र केसीले बताए । उनले नारायण नगरपालिकामा १ सय १० जना र दुल्लु नगरपालिकामा १ सय १० जना गरी २ सय २० जना युवा उद्यमीहरू उत्पादन गरिएको बताए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५