आकासमा मलेवाका जोडीसंगै
धर्तिमा बाख्राका पाठाजस्तै
बुरुक–बुरुक उफ्रिदै
खुसिका पात बजाउँदै आएको दशैमा
झोव्रmाएर बस्न नपरोस काले खत्री
टोलाएर बस्न नपरोस लुते कामी
खेतका आलिमा
गम्छाले पसिना पुछेर पेट माड्दै
बालेघरका जुठासिता टिप्न नपरोस कसैले
यो दशँैमा आएन छोरो
अर्को दशँैमा आउछकि भनी
पलाएको मन भाँच्न नपरोस कसैले
जसरी बादल फाटेर आकास हाँसेको छ
कमेरो पाएर घर हाँसेको छ
मुटु खोलेर पाखा पखेरा हाँसेको छन्
जवानी धान्न नसकेर फुलहरु मच्चि मच्चि हाँसेका छन्
त्यसरी नै हाँसीरहुन मान्छेका मन यो दशैँमा
दशैँका टिका जमरा र आशिर्वाद नछुटोन
प्रदेश गएको हर्के फर्किआओस
रोगले थला परेकी भुन्टेकी आमालाई सन्चो होस
भुँइतले घरमा अँध्यारा छिडिमा
थाल चाट्दै गरेका केटाकेटीको पेट भरियोस
आकासमा उडेका चङ्गा झै
मन बहकिएर
कोल्टे फर्किदै आँसु झार्न नपरोस कसैले
लिङ्गे पिङ मच्चिएझै
घाउहरु बल्झिएर मन नमच्चियोस
यो दशैँमा
च्यात्तिएका फाटिएका चर्केका
दर्केका फुटेका र दुखेका मनहरु
जस्ताको तस्तै होइजाउन
पोहोर परारको देउसी भैलो फर्केर आइजावोस
घरबाट पर खोलाको डिकबाटै
फर्केर नजाओस दशैँ
यसपटक
सवै नेपालीको दैलोमा
दशैँका पाइला परोस ।
लेखक तथा सकलक
चन्द्र रावत ‘गुराँस’
खुल्ला प्रेस । २६ आश्विन २०७८, मंगलवार १९:०१