दैलेखका ९१ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने तयारी

दैलेख : दैलेखका ९१ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने तयारी थालिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कार्यक्रम अनुसार देशभरका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने अभियान अन्तर्गत दैलेखमा पनि १५ महिना देखी १५ वर्ष उमेर समूहका बालबालिकाहरूलाई उक्त खोप लगाउन थालिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थीर प्रसाद रेग्मीले जानकारी दिए ।

उनका अनुसार खोप यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म लगाइने छ । दैलेख जिल्लाभर रहेका ११ वटै स्थानीय तहका करिब ९१ हजार बालबालिकालाई खोप लगाइने लक्ष्य रहेको छ ।

जिल्लाका ११ स्थानीय तहमध्ये कुन पालिकामा कहिले खोप लगाउने भन्नेबारे केही दिन भित्रमा पालीकाले नै मिति तय गरेर पठाउने रेग्मीले बताएका छन् ।

यसअघि दैलेखमा बालबालिकाहरूलाई नियमित रूपमा १२ प्रकारका रोगहरूको मात्र खोप लगाउने गरिएको भए पनि अब भने टाइफाइड विरुद्धको खोप पनि नियमित खोप कार्यक्रम अन्तर्गत नै समावेश गरिने छ । स्वास्थ्य सेवा कार्यालय अन्तर्गत खोप समन्वय समितिको नियमित बैठक अन्तर्गत बुधवार दैलेख सदरमुकाममा आयोजित एक कार्यक्रम जिल्लाभर कुल १ सय ८१ खोप केन्द्रबाट खोप लगाइने जानकारी स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ ।

५ वर्ष माथिका बालबालिकाहरूलाई विद्यालयमै पनि खोप लगाइने छ भने अवस्था हेरेर आवश्यकता अनुसार एउटा वडामा कम्तीमा २ देखि ४ वटा सम्म खोप केन्द्रबाट खोप लगाइने कार्यक्रम तय गरिएको छ ।

टाइफाइड विरुद्धको खोप अत्यन्तै प्रभावकारी रहेकाले बालबालिकाहरूलाई तोकिएको मिति र खोप केन्द्रमा लगेर खोप लगाउन तथा उक्त खोप बाहिर लगाउँदा महँगो पर्ने भएकाले पनि यो अभियानमा निःशुल्क रूपमा खोप कार्यमा सहभागी हुन कार्यालयले आग्रह गरेको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५