गृह प्रशासन सुधार कार्ययोजनाः नागरिकता स्थानीय तहबाटै

काठमाडौं : सरकारले आमसर्वसाधारणलाई स्थानीय तहबाटै नागरिकता प्रदान गर्नेगरी तयारी अघि बढाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले कार्यभार समालेको ६ महिनापछि गृह सोमबार गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गरिएको हो । कार्ययोजनामा जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिँदै आएकोे नागरिकता स्थानीय तहबाटै प्रदान गर्ने गरी योजना बनाइएको छ ।

त्यसका लागि निश्चित मापदण्ड पूरा गर्नुपर्नेगरी मन्त्रालयले योजना बनाइरहेको छ । गृह प्रशासन सुधार कार्ययोजना नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाले तयार पारेको हो । गृह मन्त्रालयमा आयोजित कार्ययोजना सार्वजनिक कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेले १० विषयमा गृह प्रशासन सुधारका लागि २ सय ६ क्रियाकलाप तयार गरिएको बताउँदै स्थानीय तहबाट नागरिकता प्रदान गर्नेगरी योजना समावेश गरिएको जानकारी दिएका हुन् ।

१० विषयमा २ सय ६ क्रियाकलाप समावेश

‘१० विषयमा २ सय ६ योजना तयार गरिएको छ, नागरिकता स्थानीय तहबाटै प्रदान गरिनेगरी योजना बनाइएको छ,’ गृह सचिव पाण्डेले भने । गृहमन्त्री खाँणले कार्ययोजना सार्वजनिकपछि बदलिँदो विश्व परिवेश र प्रविधिको बढ्दो प्रयोगसँगै गृह प्रशासन सुधारको कार्ययोजनामा पनि समयसापेक्ष सुधार आवश्यक रहेकाले गृह मन्त्रालय सोहीअनुसार अघि बढेको बताए ।

‘बदलिँदो विश्व परिवेश र प्रविधिको बढ्दो प्रयोगसँगै समयसापेक्ष गृह प्रशासन कार्ययोजनामा पनि सुधारको आवश्यकता महसुस गरिएको हो, समयअनुसार कार्ययोजनालाई सुधार गर्दै लैजानुपर्छ, मुलुकमा जति चुनौती थपिँदै जान्छ, गृह प्रशासनको कार्ययोजनामा पनि सुधार आवश्यक पर्दै जान्छ,’ गृहमन्त्री खाँणले भने ।

सचिव पाण्डेले कार्ययोजनामा नीतिनियम समयसापेक्ष बनाइने, गाँजाको औषधीय प्रयोग’bout खेतीका लागि नीति बनाइने, अध्यागमनसम्बन्धी छुट्टै नीति बनाइने, कारागारको संरचना र न्यूनतम मापदण्ड तयार पारिने, सातै प्रदेशमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको तालिम केन्द्र स्थापना गरिने, प्रहरीको डिजिटल फरेन्सिक ल्याबलाई सातै प्रदेशमा विस्तार गरिने, प्रतिआतंकवाद सेल गठन गरिने, काठमाडौंमा बढ्दो ट्राफिक समस्याको रोकथामका लागि ट्राफिक टावर बनाइनेलगायतका विषय समावेश गरिएको जानकारी दिएका हुन् ।

यसैगरी, प्रहरीको सरुवा र बढुवामा पनि नयाँ मापदण्ड तयार गर्ने मन्त्रालयको योजना छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम) गर्ने योजना सार्वजनिक गरिएको छ । यस्तै लागूऔषध नियन्त्रणका लागि हरेक जिल्लामा लागूऔषध सचेतना केन्द्र सञ्चालन गर्ने मन्त्रालयको योजना छ ।

कार्ययोजनामा एक वर्षभित्र सीमा सुरक्षा ऐन बनाइने उल्लेख छ । सरकारले सशस्त्र प्रहरी ऐनअन्तर्गत सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई सीमा क्षेत्रमा खटाउँदै आएको छ । सीमा सुरक्षा ऐनको अभावमा कतिपय कानुनी अड्चन आएकाले अन्तरसरकारी सुरक्षा संयन्त्र र अरू सरकारी निकायबीच समन्वयको अभाव छ ।

यस्तै, सीमा सुरक्षा र सीमा अपराध रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय सीमा तथा देशभित्रका अन्य रणनीतिक बिन्दुमा डिजिटल निगरानीसहितको चेक प्वाइन्ट स्थापना गर्ने पनि कार्ययोजनामा उल्लेख छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय सीमाका संवेदनशील नाकाहरूमा भेहिकल स्क्यानर, सीमा हुँदै आउने मानिस र सवारीको आवागमन निगरानी गर्न ‘थर्मल कस्टमाइज्ड ट््याकिङ सिस्टम’सहितको सफ्टवेयर विकास गर्न सशस्त्र प्रहरीलाई जिम्मा दिइएको छ । यसले सीमाबाट हुने अपराध रोकथाम तथा नियन्त्रण एवं अवैध गतिविधि नियन्त्रण गर्न सघाउ पुग्ने गृहले जनाएको छ ।

साथै सीमास्तम्भको वर्तमान अवस्थाको विवरण अद्यावधिक गर्ने डिजिटल प्रोफाइल दुई वर्षभित्र तयार पार्ने गरी काम थाल्न गृहकै सुरक्षा तथा समन्वय महाशाखालाई जिम्मेवारी दिइएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्रलाई


सरकारले सबै अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्र प्रहरी बललाई दिने योजना बनाएको छ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्रलाई दिनेगरी तयारी गरेको हो ।

अहिले मुुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा नेपाल प्रहरीले लिइरहेको छ ।

गृहमन्त्री बालकृष्ण खाणले सोमबार सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजना, २०७८ मा यी तीनओटै अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक सुरक्षा जिम्मा सशस्त्रलाई दिने उल्लेख छ ।

आगामी एक वर्षभित्र सो काम सम्पन्न गरेर सशस्त्रलाई अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा दिइने कार्ययोजनामा उल्लेख छ । सरकारले सशस्त्रलाई अन्तर्राष्ट्रिय विमानस्थलको जिम्मा दिँदा आकस्मिक सुरक्षा व्यवस्थापन थप प्रभावकारी बन्ने दाबी गरिएको छ ।

सशस्त्रले विमानस्थलको सुरक्षा आफूहरूले पाउनुपर्ने माग गर्दै आएको छ । अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय सीमाकै रूपमा हेर्ने प्रचलन भएकाले त्यहाँको सुरक्षा जिम्मा आफूहरूले पाउनुपर्ने भन्दै सशस्त्रले लामो समयदेखि लबिङसमेत गर्दै आइरहेको छ ।

उता, सरकारले रेलको सुरक्षा व्यवस्थापनका लागि ‘रेल्वे सुरक्षा गण’ स्थापना गर्न गृहकार्य अघि बढाएको छ । गृह मन्त्रालयले रेलको सुरक्षा व्यवस्थापन चुनौतीपूर्ण र त्यसैमा केन्द्रित एउटा निकाय चाहिने भन्दै दुई वर्षभित्र रेल्वे सुरक्षा गण स्थापना गर्ने तयारी गरेको हो । यसको जिम्मा सशस्त्र प्रहरीलाई दिइने कार्ययोजनामा उल्लेख छ ।

यस्तै, सशस्त्र प्रहरीकै कमान्डमा आगामी तीन वर्षभित्र चारवटा औद्योगिक सुरक्षा गुल्म स्थापना गर्ने तयारी गरिएको छ । त्यसैगरी, तीन वर्षभित्र सशस्त्रका सातवटा आश्रित गुल्मलाई अनाश्रित गुल्ममा स्तरोन्नति गरिने उल्लेख छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५