काठमाडाैँः सरकारले ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले छोटो समयमै सफलतापूर्वक निर्वाचन गर्नुपर्ने चुनौती थपिएको बताएको छ । चुनावी तयारीका लागि समय छोटो भए पनि सफलतापूर्वक सम्पन्न गरिने निर्वाचन आयोगले बताएको छ । आयोगले स्थानीय तहलाई रिक्त राख्न नमिल्ने भन्दै ५ जेठअघि नै निर्वाचन गराउन सरकारलाई बारम्बार ध्यानाकर्षण गराउँदै आएको थियो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्मा प्रस्ताव लानुअघि गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचन आयोगसँग परामर्श गरेका थिए । ‘हामीले पहिलेदेखि नै वैशाखभित्रै निर्वाचन गरौँ भनेका थियौँ । आज पनि सरकारसँगको परामर्शमा त्यही कुराकानी भएको थियो । आयोगसँगको परामर्शअनुसार नै मिति तोकेको सूचना पाएका छौँ । औपचारिक जानकारी आउन भने बाँकी छ,’ निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले भने ।
सरकारले एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय लिएको हो । १८ माघमा प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श गर्दा आयोगले एकै चरणमा निर्वाचन गर्न सुझाव दिएको थियो । एकै चरणमा निर्वाचन गर्दा खर्चमा मितव्ययिता हुने, सुरक्षा प्रबन्धमा सहज हुने, निर्वाचन प्रचारप्रसार कम हुने र एक ठाउँको परिणामले अर्को स्थानको नतिजा प्रभावित नहुने सुझाव आयोगको थियो ।
एकै चरणमा निर्वाचन गर्ने निर्णय स्वागतयोग्य भएको आयुक्त ईश्वरीप्रसाद पौड्यालले बताए । ‘आर्थिक मितव्ययिता र निर्वाचन सुरक्षाको हिसाबले सरकारले राम्रो निर्णय गरेको छ । आयोगलाई पनि निर्वाचन कार्यक्रम र कार्यतालिका बनाउन केही सहज हुनेछ,’ उनले भने ।
निर्वाचन तयारीका हिसाबले समय कम भए पनि आयोगले सफलतापूर्वक निर्वाचन गराउने प्रमुख आयुक्त थपलियाको भनाइ छ । ‘निर्वाचन तयारीका लागि सामान्यतया १ सय २० दिनको समय चाहिने भए पनि अहिले हामीसँग ९५ दिनको समय छ । छोटो समय भए पनि आयोगले चुनावलाई सफलतापूर्वक सम्पन्न गराउनेछ,’ उनले भने ।
मतदाता नामावली संकलन मंगलबारबाट बन्द
सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै मतदाता नामावली संकलनको काम बन्द हुने भएको छ । नामावली संकलन आजबाट बन्द हुने आयोगले जनाएको हो । आयोगले अब मतदाता नामावली अध्यावधिक गर्न वडासम्म पत्राचार गर्नेछ ।
‘मतदाता नामावाली अब भोलिबाट दर्ता हुनेछैन । आजसम्म संकलन भएका विवरण अध्यावधिकका लागि हामी पत्राचार गर्नेछौँ,’ थपलियाले भने ।
निर्वाचनका लागि आयोगले निर्वाचन कार्यतालिका दुई दिनभित्र बनाउने थपलियाले बताए । त्यसमा दल दर्ताको समयलगायत अन्य कार्यक्रम समावेश हुने उनको भनाइ छ । निर्वाचन गर्नुअघि आयोगले आचारसंहिता बनाउने, खरिदको योजना बनाउने मतदाता शिक्षाको कार्यतालिका बनाउनेलगायतका ५३ वटा काम गर्नुपर्नेछ ।
‘निर्वाचनका लागि हामीले मतदाता नामावली अध्यावधिक, मतदाता शिक्षाको कार्यक्रम, आचारसंहिता, दल दर्तालगायत ५३ वटा काम गर्नुपर्नेछ,’ थपलियाले भने । शिलापत्र




खुल्ला प्रेस । २४ माघ २०७८, सोमबार २०:०३