एमालेमा कर्णालीबाट केन्द्रीय सदस्यका आकांक्षी धेरै

सुर्खेत: नेकपा (एमाले) को केन्द्रीय सदस्यका लागि कर्णाली प्रदेशबाट एक दर्जन बढी नेताहरूले आकांक्षा देखाएका छन् । शुक्रवारदेखि सुरु भएको १०औं महाधिवेशनमा कर्णालीबाट केन्द्रीय सदस्य बन्न चाहनेहरूको संख्या धेरै देखिएको हो ।

विधान अनुसार प्रदेश भुगोलतर्फबाट कर्णालीले सात केन्द्रीय सदस्य पाउँछ । दुई महिलासहित ६ जना खुला र एक जना पिछडीएको क्षेत्र गरी सात केन्द्रीय सदस्यको व्यवस्था गरिएको छ । सात पदमा दर्जन बढी नेताले दाबी प्रस्तुत गरेका छन् । केन्द्रीय सदस्य दाबी गर्नेहरूमा राजबहादुर बुढा, लक्ष्मी पोखरेल, गोरख वोगटी, गुलावजंग शाह, धर्मराज रेग्मी, विष्णु रिजाल, मोहन वानियाँ, भैरवसुन्दर श्रेष्ठ, निरज आचार्य, गोविन्दविक्रम शाहलगायत रहेका छन् । यस्तै नवराज रावत, रविन्द्रराज शर्मा, ध्रुवकुमार शाही, विनोदकुमार शाह, दल रावल, योगेन्द्र शाहीलगायतले पनि केन्द्रीय सदस्यका लागि आकांक्षा राखेका छन् ।

यसैबीच प्रदेश सहइन्चार्ज एवम् पोलिट्ब्युरो सदस्य यामलाल कंडेलले केन्द्रीय सचिवमा दाबी गरेका छन् । यसपटक केन्द्रीय पदाधिकारीमा कर्णालीको उपस्थिति हुनुपर्ने अडानसहित कंडेलले सचिवमा उम्मेदवारी दिने तयारी गरेका हुन् । त्यसका लागि दशवटै जिल्ला, प्रदेश कमिटी तथा महाधिवेशन प्रतिनिधिले सामूहिक प्रयास गर्ने भएका छन् ।

कम्तीमा एक पदाधिकारी पाउनुपर्ने दाबी कर्णालीको छ । हालसम्म कर्णालीबाट एमालेको पदाधिकारी तथा स्थायी कमिटीमा प्रतिनिधत्व छैन । पार्टीको पदाधिकारी तथा कार्यकारी भूमिकामा सधैँ उपेक्षा गरिँदै आएको भन्दै यसपाली जसरी भए पनि पदाधिकारी लिइ छाड्ने दाबी नेताहरूले गरेका छन् । पार्टीको पदाधिकारी लिनेमा प्रदेश र जिल्ला कमिटी तथा महाधिवेशन प्रतिनिधि सबैको एकमत रहेको बताइएको छ ।

एमालेको महाधिवेशन शुक्रवार चितवनमा उद्घाटन गरिएको छ । महाधिवेशनले आगामी कार्यकालका लागि नेतृत्व चयन गर्नेछ । यसपटक सर्वसम्मत रूपमा नेतृत्व चयनका लागि प्रयास भइरहेको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५