दैलेखः सदरमुकाममा रहेको नारायण बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनबाट हिम बहादुर बस्नेत अध्यक्षमा निर्वाचीत भएका छन् । एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको प्यानल नै विजयी भएको छ । अनेरास्ववियुबाट अध्यक्षमा हिमबहादुर बस्नेत विजयी भएका निर्वाचन अधिकृत ललित बहादुर मल्लले जनाकारी दिए ।
निर्वाचन अधिकृतले दिएको जानकारी अनुसार–शुक्रबार भएको निर्वाचनमा बस्नेत नेपाल विद्यार्थी संघका विष्णुप्रसाद कोइरालालाई नौ मतले पछाडि पार्दै बस्नेत विजयी भए । नेविसंघ, अखिल क्रान्तिकारी, विप्लप निकट विद्यार्थी संगठन र अनेरास्वयू समाजवादीबीचको गठवन्धनलाई हराउँदै अनेरास्ववियुको टिम नै विजयी भएको छ । यस्तै अनेरास्ववियुका फिलिप सिंहले ६५ मतान्तरसहति समाजवादी अनेरास्ववियुका टेकराज बुढालाई पराजित गरे । सिंहले एक सय ९२ मत प्राप्त गर्दा बुढाले एक सय २७ मत प्राप्त गरी पराजित भए ।
कोषाध्यक्षमा अनेरास्ववियुका शुष्मा शाहीले ३१ मतान्तरसहित अखिल क्रान्तिकारीका भुवनप्रसाद पाण्डेलाई पराजित गरिन् । शाहीले एक सय ७२ मत प्राप्त गर्दा पाण्डेले एक सय ४१ मत प्राप्त गरी पराजित भए ।
खुल्ला प्रेस । २९ भाद्र २०८१, शनिबार १५:३८