धमाधम थपिँदै नयाँ मतदाता

दैलेख: दैलेखमा धमाधम नयाँ मतदाता थपिन थालेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न सूचना जारी भएको तीन हप्तामा दैलेख जिल्लामा एक सय १४ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

जिल्लाका विभिन्न स्थानीय तहबाट मतदाता नामावलीमा नाम दर्ता गर्न दैनिक आठ जनादेखि दश जनासम्म निर्वाचन कार्यालयमा आउने गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

जिल्ला निर्वाचन कार्यालय दैलेखका निर्वाचन अधिकारी नरबहादुर सलामी मगरले दसैँ भएका कारण नयाँ मतदाता नामावली बनाउने सङ्ख्या उल्लेख्य नभए पनि तिहारपछि मतदाता नामावलीमा नाम दर्ता गर्नेको सङ्ख्या बढ्ने  बताए । उनले निर्वाचन आयोगले २०८१ असारमै नयाँ मतदाता नामावली दर्ता गर्नका लागी स्थानीय तहमै व्यवस्था गर्ने कार्यविधि निर्माण गरे पनि जिल्लाका स्थानीय तहले चासो नदिएका कारण दुर्गम गाउँका नागरिकलाई निर्वाचन कार्यालयमा आएर नामावली दर्ता गर्न कठिन हुने गरेको बताए । उनले भने, स्थानीय तहले मतदाता नामावली दर्ताका लागी प्रयास गर्ने । निर्वाचन कार्यालयले त्यसको सहजीकरण गरेको खण्डमा मतदाता थपिने थिए ।

निर्वाचनका लागी मुख्य राजनीतिक दल नेपाली काँग्रेस र एमालेका नेताहरूले समेत निर्वाचनको वातावरण नबनाएका कारण उत्साहजनक रूपमा मतदाता नामावली दर्ता हुने नसकेको कार्यालयले जानकारी दिएको छ । निर्वाचन अधिकारी सलामीले राजनीतिक दलले निर्वाचनको वातावरण  निर्माण नगरेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्नेको सङ्ख्या कम हुने बताए। उनले भने, राजनीतिक दलले युवाहरूलाई मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रेरणा जगाउनुपर्नेमा ठुला दलनै चुप बसेका छन् ।

मतदाता नामावलीमा नाम दर्ता गर्न पुगेका दुल्लु नगरपालिका–२ का ललितकुमार कार्कीले फागुन २१ गते हुने निर्वाचनका लागी आफूले निर्वाचन आयोगमा आएर मतदाता नामावलीमा नाम दर्ता गराएको बताए । उनले आफ्नो नाम मतदाता नामावलीमा समावेश गरी मन लागेका उम्मेदवारलाई मतदान गर्ने बताए । उनका अनुसार, राजनीतिक दलले नामावली दर्ता गर्न आह्वान नगरेसम्म दुर्गम गाउँका युवाहरूले नाम दर्ता नगर्ने विगतको समस्या अहिले पनि छ ।

जिल्ला प्रशासन कार्यालय दैलेखले मतदाता नामावलीमा आफ्नो दर्ता गर्न छुटेका नागरिकलाई नाम दर्ता गर्न अनुरोध गरेको छ । आगामी फागुन २१ हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आगामी कात्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका नागरिकलाई नाम दर्ता गर्न दैलेख प्रशासनले अनुरोध गरेको हो ।

जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार दैलेखमा अद्यावधिक मतदाता सङ्ख्या एक लाख ५९ हजार ८६५ जना छन् । जसमध्ये महिला ७९ हजार ८१६, पुरुष ८ ० हजार ४९जना छन्। अघिल्लो प्रतिनिधि सभा निर्वाचनभन्दा आउने प्रतिनिधि सभा निर्वाचनमा मतदाता सङ्ख्या बढ्ने देखिएको छ । दुई वटा सङ्घीय निर्वाचन क्षेत्र रहेको दैलेखमा चार वटा प्रदेश सभा  ११ स्थानीय तह र ९० वडा छन् । गाेरखापत्र

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५