दैलेख नेपाली पत्रकारिताको इतिहासमा साहस, निष्ठा र जनताको पक्षमा कलम चलाउने प्रतीकका रूपमा चिनिएका स्व. पत्रकार डेकेन्द्रराज थापाको २१औँ स्मृति दिवस भव्य रूपमा मनाइयो। मंगलवार दैलेख सदरमुकाममा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा दैलेखको आयोजनामा सम्पन्न कार्यक्रममा पत्रकार, मानव अधिकारकर्मी, राजनीतिक र नागरिक समाजका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रह्यो।
स्मृति दिवस केवल एक दिवङ्गत पत्रकारको सम्झना मात्र नभई न्याय, अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारको विषयमा दैलेख जिल्लाको सामूहिक आवाज बनेको छ। कार्यक्रममा सहभागी वक्ताहरूको मुख्य अभिव्यक्ति न्यायप्राप्तिको लडाइँ अझै अधुरो रहेकोमा केन्द्रित थियो।
२०६१ असार १२ गते तत्कालीन माओवादी समूहद्वारा अपहरण गरी यातनापछि हत्या गरिएका थापाको हत्यामा दोषीहरूलाई कानुनी दायरामा ल्याउन राज्य निकायको ढिलासुस्तीप्रति कार्यक्रमले गम्भीर आपत्ति व्यक्त गर्यो।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले भने, “यो प्रकरणमा प्रहरी सक्रिय छ, र हामी न्यायको पक्षमा दृढ छौँ।”
नेपाल पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष यज्ञराज थापाले स्मृतिमा उल्लेख गर्दै भने,
“डेकेन्द्रजी केवल कलमका मान्छे होइनन्, उनी उद्घोषक, लोक देउडा गायक, समाजसेवी र राजनीतिक रूपमा पनि सक्रिय थिए। उनको हत्या केवल एक व्यक्तिको मृत्यु मात्र नभई दैलेखको आवाज दमन गर्ने प्रयास थियो।”
महासङ्घका पूर्व अध्यक्ष पुष्कर थापाले भने,“डेकेन्द्रको जीवनले हामीलाई पत्रकारितामा सत्य र निष्ठाको मार्ग देखाएको छ। उनले जोखिम मोलेर जनताको आवाज बनेका थिए।”
महासङ्घका दोस्रो कार्यकालका अध्यक्ष कमल शर्माले अदालतको आदेश कार्यान्वयनमा भएको ढिलाइप्रति सरकारको उदासीनता प्रति प्रश्न उठाउँदै भने,“न्याय केवल फैसला सुनाएर पूरा हुँदैन, त्यसको कार्यान्वयनमा राज्यले जिम्मेवारी लिनुपर्छ। डेकेन्द्रको हत्या प्रकरणमा मुख्य दोषी अझै सजायको दायरामा आउन सकेका छैनन्।”
नारायण नगरपालिका–१ का वडाध्यक्ष शैलेश श्रेष्ठले भने,“थापा दैलेखको पहिचानसँगै जोडिएका व्यक्ति थिए। उनको भाषणमा जोस, लेखमा जनताको पक्ष र गीतमा संस्कृतिको सुगन्ध पाइन्थ्यो।”
महिला अधिकारकर्मी राधा मल्लले भने,“थापा केवल पुरुष पत्रकारको उदाहरण मात्र होइन, महिला, दलित र सीमान्तकृत समुदायका मुद्दामा समेत आवाज विहीनको आवाज बनेका थिए।”
नेकपा एमाले दैलेखका सचिव हिमालयजंग शाहले पनि डेकेन्द्रराजलाई देशकै गहना ठहर गर्दै पत्रकारितामा उनको योगदान अमूल्य रहेको बताए।
कार्यक्रमको समापन गर्दै पत्रकार महासङ्घका वर्तमान अध्यक्ष अमर सुनारले स्मृति दिवसलाई प्रेरणाको स्रोतका रूपमा लिएर युवा पत्रकारलाई थापाको आदर्शबाट सिक्न आग्रह गरे। सुनारका अनुसार डेकेन्द्रराज थापा रेडियो नेपालका संवाददाता, स्थानीय उपभोक्ता समितिका अध्यक्ष, उद्घोषक, लोक देउडा गायक र समाजसेवीका रूपमा दैलेखमा बहु आयामिक योगदान दिएका थिए।

खानेपानी पाइपलाइन विवाद र हत्या
२०६१ असार १२ गते, खानेपानी विवादमा तत्कालीन खानेपानी समितिका अध्यक्ष रत्नबहादुर खड्काले वार्तामा जान नमानेपछि, पत्रकार डेकेन्द्रराज थापालाई खानेपानी समितिको अध्यक्ष बनाएर वार्तामा पठाइएको थियो। तर, समस्या समाधानका लागि पहल गर्न पुगेका थापालाई तत्कालीन माओवादी कार्यकर्ताहरूले अपहरण गरे। करिब ४५ दिन बन्धक राखेर २०६१ साउन २७ गते क्रूरतापूर्वक हत्या गरियो। हत्या पश्चात् उनको शव जङ्गलमा गाडिएको थियो र २०६५ सालमा मात्र उनको शव उत्खनन गरी सार्वजनिक गरिएको थियो।
घटनाको ४ वर्षपछि थापाको कङ्कालको वैज्ञानिक परीक्षणपछि २०६५ साउन १८ गते हिन्दु धार्मिक परम्परा अनुसार दाहसंस्कार गरिएको थियो। थापाकी धर्मपत्नी लक्ष्मी थापाले २०६५ भदौ ६ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा ९ जना विरुद्ध किटानी जाहेरी दिनुभएको थियो।
सशस्त्र युद्धकालीन समयमा भएको भएकाले सत्य निरूपण तथा मेलमिलाप आयोगले हेर्नुपर्ने भन्दै माओवादी पक्षले दबाब दिएको कारण मुद्दा अगाडि बढ्न सकेको थिएन।
पत्रकारहरूको निरन्तर दबाबपछि २०६९ पुस २० गते प्रहरीले हत्यामा संलग्न भनिएका ९ मध्ये ५ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो।
पहिलो फैसला २०७१ मङ्सिर २१ गते तत्कालीन जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले पक्राउ परेकाहरूलाई दुई–दुई वर्षदेखि एक वर्ष ६ महिनासम्म कैद सजाय सुनाएको छ। ती सजाय भुक्तान भइसकेका छन्।
२०७८ मङ्सिर २६ गते सुनाइएको दोस्रो फैसलामा तीन जना दोषीलाई कडा सजाय सुनाइएको थियो। साबिक कट्टी गाविस ७ हाल भगवतीमाई गाउँपालिका ६ का ‘मुक्ति’ भन्ने बमबहादुर खड्का, साबिक छिउडीपुसाकोट गाविस ७ हाल दुल्लु नगरपालिका–६ का केशव खड्कालाई जनही २० वर्षको जन्मकैद सजाय तोकिएको छ। साथै, बाँकेको कोहलपुर नगरपालिका–३ का भक्तिराम लामिछानेलाई तीन वर्ष कैद सजाय सुनाइएको छ।
तर २१ वर्ष बितिसक्दा पनि यो प्रकरणले पूर्ण न्याय पाउन सकेको छैन। केही दोषीहरू जेल सजाय भुक्तान गरिसके पनि मुख्य योजनाकार अझै फरार छन्। पीडित परिवार, पत्रकार महासङ्घ र मानवअधिकारकर्मीहरूले यो मुद्दा बिर्सन नहुने स्पष्ट गर्दै निरन्तर न्यायको माग गरिरहेका छन्।




खुल्ला प्रेस । २९ श्रावण २०८२, बुधबार ०९:१२