सुर्खेत: कर्णाली प्रदेश सरकारले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन ‘झोलाविहीन शुक्रबार’ बनाउने नीति लिएको छ । बालबालिकालाई अतिरिक्त क्रियाकलाप तथा जीवनोपयोगी ज्ञान र कलातर्फ आकर्षित हुने गरी विद्यालयलाई क्रमशः ‘झोलाविहीन शुक्रबार’ बनाउने नीति लिएको हो ।
पछिल्लो समय विद्यालयमा शुक्रबार विभिन्न अतिरिक्त कार्यक्रमको आयोजना गर्ने गरिएको छ । विद्यार्थीलाई शैक्षिक ज्ञान मात्र नभई सिपमूलक ज्ञानको पनि आवश्यकता रहेकाले विद्यालयमा व्यावहारिक शिक्षा दिन सुरु गरिएको प्रदेश सरकारले जनाएको छ । गत आर्थिक वर्ष २०८१/८२ देखि कार्यक्रम सुरु गरिएको हो । कार्यक्रम प्रभावकारी मानिएपछि चालु आवमा समेत निरन्तरता दिइएको छ ।
विद्यालयमा हप्तामा एक दिन किताबरहित शिक्षा सञ्चालन गर्ने गरी योजना अघि सारिएको छ । हरेक हप्ताको शुक्रबार जीवनोपयोगी शैक्षिक कार्यक्रमलाई परीक्षणका रूपमा सञ्चालन गर्ने गरी कार्यक्रम सुरु गरिएको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ । गत वर्ष परीक्षणका रूपमा कार्यक्रम सुरु गरिएको निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले बताइन उक्त वर्ष सुर्खेतका चार पालिकाका आठ वटा विद्यालयमा कार्यक्रम कार्यान्वयन गरिएको थियो । पञ्चपुरी, लेकबेँसी र भेरीगङ्गा नगरपालिकाका एक/एक वटा र वीरेन्द्रनगर नगरपालिकाका पाँच वटा विद्यालयमा कार्यक्रम कार्यान्वयन गरिएको थियो । यो वर्षदेखि प्रदेशभर नै कार्यक्रम कार्यान्वयन गर्ने योजना रहेको प्रदेश सरकारले जनाएको छ ।
बालबालिकाले दैनिक रूपमा प्रयोगमा आउने सामग्रीलाई राम्रोसँग पहिचान गर्न सक्ने र बनाउन पनि सिक्ने हुँदा दुनाटपरी बनाउने, घरमा प्रयोग हुने नाङ्लो बनाउने, घर लिपपोत गर्ने, विद्यालयमा सरसफाइ र प्लम्बिङसम्बन्धी ज्ञान दिने योजना अनुरूप कार्यक्रम कार्यान्वयन हुने छ । विद्यार्थीलाई व्यावहारिक ज्ञान सिकाउने प्रमुख लक्ष्य कार्यक्रमको रहेको हमालको भनाइ छ । विद्यार्थीलाई कृषि तथा सहरी खेती, सौन्दर्यकला र कपाल शैली, काष्ठकला तथा नक्कासी, पाककला, फेसन डिजाइन तथा कपडा निर्माण, तार तथा बिजुली जडान, विपत् पूर्वतयारीका लागि भवन निर्माण, रैथाने कला, मोबाइल तथा विद्युतीय सामग्री, पाइप जडान तथा मर्मत र कला तथा मूर्तिकलालगायतका विषयमा विद्यार्थीलाई व्यावहारिक ज्ञान सिकाइने छ ।
कार्यक्रममा माध्यमिक तहका विद्यार्थी सहभागी हुने छन् । जीवनोपयोगी सिपका आधारमा दिइने शिक्षाले शैक्षिक बेरोजगारी समस्या हट्ने र बालबालिकाको सिर्जनशीलतामा वृद्धि हुने अपेक्षा राखिएको छ । माध्यमिक तहको कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई ‘शिक्षासँगै सिप’ तालिम प्रदान गर्ने भएपछि विद्यार्थी सो दिन किताब बोकेर विद्यालय जान नपर्ने भएको निर्देशक हमालले बताइन। कार्यक्रम प्रभावकारी मानिएको भए पनि बजेट भने सरकारले पर्याप्त विनियोजन गरेको छैन । गत वर्ष परीक्षणका रूपमा कार्यक्रम कार्यान्वयन गर्ने गरी ३५ लाख बजेट विनियोजन गरिएको थियो । सुर्खेतका चार पालिकाका आठ सामुदायिक विद्यालयमा कार्यक्रम लागु गरियो । कार्यक्रम प्रभावकारी भएसँगै यो वर्ष पनि निरन्तरता दिइएको छ ।
चालु आवमा छ लाख २५ हजार मात्र बजेट विनियोजन भएको छ । यो वर्ष प्रदेशभर कार्यक्रम कार्यान्वयन गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ । कार्यक्रम कार्यान्वयनका लागि थप बजेट माग गरिने मन्त्रालयका महाशाखा प्रमुख सुर्वणकुमार खड्काले बताए ।




खुल्ला प्रेस । १० श्रावण २०८२, शुक्रबार ०८:१७